नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन्।
बुधवारबाट काठमाडौंमा सुरू भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिले भने सरकार टिक्छ भन्ने कुरामा प्रश्न उठाएको टिप्पणी गरेका हुन्।
' चुनाव सम्भव होला, चुनाव गराउन यो सरकारले सक्ला ? प्रश्न गम्भिर रुपमा उठेको छ। प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा पनि चुनौतिको सामना पनि गर्छु भनिरहनुभएको छ। तर दिक्दारी पनि बेलावखतमा पोख्ने गर्नुभएको छ। यही सरकार रहिरहन्छ कि के हुन्छ ? भन्ने प्रश्न पनि उठेका छन्। यी सबै अवस्थामा हाम्रो ध्यान यो देशको सार्वभौमसत्ताको रक्षा गर्ने कसरी, विदेशीहरुको खेलमैदानबाट देशलाई जोगाउने कसरी, संविधान र गणतन्त्रको रक्षा गर्ने कसरी, सहज राजनीतिक परिस्थिति सृजना गर्ने कसरी ? भन्नेमा केन्द्रीत छ,' उनले भने।
अध्यक्ष नेपालले पवित्र उद्देश्यका साथ सरकार अघि बढे आफ्नो पार्टीको पूरा सहयोग हुने बताए।
'यस अर्थमा हामीले चुनावको तयारीमा जुट्नुपर्ने हुन्छ। चुनावको तयारीमा जुट्ने, चुनावमा राम्रो परिणाम ल्याउने। त्यो आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,' उनले भने। -न्युज एजेन्सी नेपाल।