नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकताको सैद्धान्तिक आधार केन्द्रीय कमिटीलाई बताएका छन्।
बुधबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले एकताको सम्भावनाबारे बताएका हुन्।
उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा एकताको सैद्धान्तिक आधार मात्रै खुलाइएको छ। छलफलका प्रगति राखिएको छैन।
‘हामीले पार्टी पुनःगठन गर्दा कायम गरिएको केन्द्रीय कमिटीको प्रथम बैठकबाट नै वामपन्थी शक्तिहरूबिच सहकार्यको भावना विकास गर्नु र मोर्चा बनाएर काम गर्दै गई पार्टी एकताका आधारहरू निर्माण गर्नु पनि आजको एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हो भन्ने प्रस्ताव पारित गरेका थियौं। हाम्रो यही घोषित नीति अनुसार नै हामीले अहिलेको समाजवादी मोर्चा निर्माणमा जोड गरेका हौं र त्यसमा संलग्न रहेर काम गर्दै आएका हौं । समाजवादी मोर्चा मार्फत् गरिएका काम पर्याप्त नहुन सक्छन् तर यसले कतिपय अत्यन्त महत्त्वपूर्ण काम गरेको छ। उदाहरणको लागि २०८१ चैत १५ गते भृकुटी मण्डपमा आयोजित प्रतिगमन विरोधी जन प्रदर्शनलाई लिन सकिन्छ। तसर्थ यस प्रकारको मोर्चाको महत्त्व छ भन्ने कुरा विर्सनु हुँदैन,’ प्रतिवेदनमा उल्लेख छ।
वाम एकताको सम्बन्धमा पनि एकीकृत समाजवादीले सुरुदेखि नै क्रान्तिकारी कम्युनिष्टहरू, खासगरी समाजवादी कार्यदिशा र कार्यक्रम अँगालेका कम्युनिष्ट घटकहरूबीच एकता हुनुपर्ने कुरामा जोड दिदै आएका पनि उल्लेख गरेका छन्।
‘कम्युनिष्ट एकता आजको आवश्यकता हो। किनभने समाजवादी क्रान्ति सम्पन्न गर्नका निम्ति एउटा बलियो क्रान्तिकारी शक्तिको आवश्यकता पर्दछ र त्यो बलियो क्रान्तिकारी शक्तिको निर्माण यहाँका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूबीचको एकताबाट नै हुन सक्तछ,’ उनले भनेका छन्।
तथापि स्पष्ट आधार निर्माण नभइकन पार्टी एकता हुन नसक्ने उनको ठहर छ।
‘पार्टी एकता हुनका लागि सबभन्दा पहिले पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, संगठनात्मक सिद्धान्त, रणनीतिक लक्ष्य, क्रान्तिको कार्यक्रम, कार्यदिशा र कार्यनीति जस्ता मूलभूत विषयमा एकरूपता हुनु पर्दछ। त्यसको साथै संगठनात्मक संरचना र कार्य प्रणाली कस्तो हुने हो भन्ने विषय पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। यी महत्त्वपूर्ण सवालमा समानता नभइकन कसैसँग पनि पार्टी एकता हुन सक्तैन,’ उनले भनेका छन्।
यी सबै विषयमा समानता भयो र सहमति पनि निर्माण भयो भने एकता गर्न नहुने कुरा मात्र होइन एकता सम्पन्न गर्न ढिलाई गर्न नहुनेमा पनि उनले जोड दिएका छन्।
‘त्यसैले हामीले समान विचार, सिद्धान्त, कार्यक्रम, कार्यदिशा र रणनीतिक लक्ष्य अँगालेका कम्युनिष्ट समूहसँग एकता गर्ने नीति लिएका छौं,’ उनले भनेका छन्।
पार्टीको दसौं महाधिवेशनबाट पारित गरिएका दस्तावेजहरूमा नै एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (......) नै हुनुपर्ने रहेको प्रतिवेदनमा उल्लखे छ। उनले भन्न खोजेको नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) हो। अहिले यही नाममा छलफल भइरहेको छ।
नेपाली क्रान्तिको जनवादी चरण पूरा भएको र मुलुक समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको मान्नु पर्ने उनले बताएका छन्। आम नेपाली जनता र दलाल नोकरशाही पुँजीपति वर्गबीचको अन्तर्विरोधलाई वर्तमान नेपाली समाजको प्रधान अन्तर्विरोध मान्नु पर्ने पनि अध्यक्ष नेपालले सैद्धान्तिक व्याख्या गरेका छन्।
पार्टी र क्रान्तिको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद मात्रै हुनुपर्ने र माओवाद हुनु नहुने उनले बताएका छन्।
‘पार्टीको संगठनात्मक सिद्धान्त लेनिनवादी संगठनात्मक सिद्धान्त नै हुनुपर्दछ, पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुनुपर्दछ, समाजवादी कार्यदिशा अँगाल्नु पर्दछ, नेपाली विशेषताको समाजवादी कार्यक्रम अंगीकार गर्नुपर्दछ र साम्राज्यवाद, प्रभूत्ववाद तथा नवउपनिवेशवादको विरोध गर्दै राष्ट्रको विकास, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, समानता र आम जनताका हक अधिकारको पक्षमा दृढतापूर्वक खडा हुनेर संघर्ष गर्ने प्रतिबद्धता हुनुपर्दछ। यी अवधारणा छाडेर कसैसँग पनि पार्टी एकता हुन सत्तैmन, गरिदैन। यदि यी सबै कुरामा समान धारणा राख्ने कुनै कम्युनिष्ट घटकसँग एकताको सम्भावना भएमा हामी नकारात्मक हुन पनि हुँदैन। यिनै सैद्धान्तिक अवधारणाका आधारमा पार्टी एकता गर्न सकिन्छ भने त्यसका लागि हामीले नै पहल गर्नु पर्दछ। त्यो जिम्मेवारी वहन गर्न हामी सदैव तत्पर रहनु पर्छ,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ।