नेकपा (एकीकृत समाजवादी) को बुधबार सुरू भएको केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रसँग चलिरहेको एकता प्रक्रियामा अहिलेसम्म भएको प्रगति पेस भएको छ।
पार्टी एकताका लागि एकीकृत समाजवादीबाट वार्ता टोलीको नेतृत्व गरेका नेता वेदुराम भूसालले अहिलेसम्म भएको प्रगति बैठकमा सुनाएको सहभागी केन्द्रीय सदस्यहरूले जानकारी दिएका छन्।
‘नेता भूसालका अनुसार माओवादी र एकीकृत समाजवादी मिलेर बन्ने पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी (समाजवादी) राख्ने सहमति भइसकेको छ,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘चुनाव चिह्न तारा हुने सम्भावना बढी छ भनेर पनि उहाँले बैठकमा जानकारी पनि दिनुभयो।’
एकतापछि बन्ने पार्टीमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र कमिटी, पालिका कमिटी र वडा कमिटी कार्यकारी
स्वरूपमा रहने सहमति भएको जानकारी भूसालले बैठकमा दिएका थिए।
भूसालका अनुसार एकीकृत समाजवादी र माओवादी केन्द्रका बीच एकता भएपछि पार्टीको केन्द्रीय नेतृत्वमा संयोजक र सहसंयोजक रहने व्यवस्था गर्ने सहमति भएको छ।
‘सँगै एउटा कार्य सम्पादन कमिटी बन्नेछ। त्यस पछाडि सचिवालय रहनेछ,’ भूसालले भने, ‘एउटा राजनीतिक समिति र केन्द्रीय कमिटी रहनेछ।’
पार्टी एकता भएको ६ महिनाभित्र राष्ट्रिय एकताको सम्मेलन गर्ने सहमति भइसकेको भूसालले बैठकमा जानकारी दिएका थिए।
त्यसअघि बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष माधवकुमार नेपालले विचार मिल्नेहरूसँग एकता गर्नुपर्ने भन्दै एमाले अध्यक्ष केपी ओलीसँग लम्पसार पर्न नसकिने बताएका थिए।
एकीकृत समाजवादीभित्र अध्यक्ष नेपाल, नेताहरू प्रमेश हमाल, वेदुराम भूसाल, राजेन्द्र राई, मेटमणि चौधरीहरू माओवादीसँग एकता गरेर अघि बढ्नुपर्ने पक्षमा छन्।
सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, रामकुमारी झाक्री सहितका नेताहरू भने पार्टी पुनःगठन पछि मात्रै एकता प्रक्रियामा जानुपर्ने अडानमा छन्।
‘अहिलेकै नेतृत्व स्वीकारेर कुनै पनि पार्टीसँग एकता हुन्न’ भन्ने मत खनाल–भूसाल पक्षका नेताहरूको छ।
बुधबारको बैठकमा केन्द्रीय सदस्यहरूले बोलेका छैनन्। बिहीबारको बैठकमा प्रतिनिधिमूलक रूपमा केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्।