काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेको निलम्बनविरूद्ध दिएको रिट निवेदन खारेज भएको छ।
बुधबार न्यायाधीशहरू डालकुमार खड्का र दिपक खनालको इजलासले पाण्डेले आफ्नो निलम्बनविरूद्ध हालेको रिट निवेदन खारेज गरेको हो।
असार ४ गते उच्च अदालत पाटनले पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। अदालतको अन्तरिम आदेशपछि कार्यकारी गुरागाईंले असोज २८ गते पाण्डेको निलम्बन फुकुवा गरेका थिए।
अदालतले असोज २८ गते गुरागाईंले पाण्डेलाई फुकुवा गरेको पत्रलाई आधार मान्दै निवेदन खारेज गरेको स्रोत बताउँछ।
'निलम्बन फुकुवा भएपछि राजुजीले अदालतमा सो व्यहोरा पेश गर्नुभएको थियो,' स्रोतले भन्यो, 'सोहीलाई आधार मानेर निवेदन खारेज गरेको छ।'
पाण्डेलाई जेठ २० गते कार्यकारी गुरागाईंले निलम्बन गरेका थिए। काठमाडौं भ्यू टावर नक्सा पास विवादमा मेयर बालेनले गुरागाईंमाथि अनियमितताको आरोप लगाएका थिए। पछि कार्यकारी गुरागाईं कार्यकक्षमा प्रवेश गर्न खोज्दा पाण्डेले उनलाई कार्यकक्षमा प्रवेश गर्न दिएका थिएनन्। तर उपमेयर सुनिता डंगोल र वडाध्यक्षहरूले उनलाई कार्यकक्षमा प्रवेश गराएका थिए।
कानुनमा नगर प्रहरी प्रमुखले कार्यकारीको आदेश पालना गर्ने उल्लेख छ। तर उनले कानुनविपरित गएर कार्यकारीलाई नै मेयरको आदेश भन्दै कार्यकारीलाई नै आफ्नो कार्यकक्ष प्रवेशमा रोक लगाएका थिए। पछि गुरागाईंले पदीय आचरण विपरीत काम गरेको भन्दै नगर प्रहरी प्रमुख राजु पाण्डेलाई छ महिनाका लागि निलम्बन गरेका थिए।
पाण्डेले निलम्बनविरूद्ध प्रशासकीय अधिकृत सरोज गुरागाई, कार्यवाहक प्रहरी बल प्रमुख बिष्णु जोशी लगायतलाई विपक्षी बनाएर निवेदन दिएका थिए।