अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार भेटवार्ता हुँदैछ।
एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन फोरममा सहभागी हुनका लागि अहिले दुवै नेता दक्षिण कोरियामा छन्।
ट्रम्प र सीबीच दक्षिण कोरियाको समयअनुसार बिहान ११ बजे भेटवार्ता हुने तय भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। उनीहरुबीच दक्षिण तटीय सहर बुसनमा भेटवार्ता हुनेछ।
ट्रम्पको दोस्रो कार्यकालमा पहिलो पटक सीसँग वार्ता हुन लागेको हो। दोस्रो कार्यकाल सम्हालेसँगै ट्रम्पले चीनसँग व्यापार युद्ध गरेपछि दुई देशबीचको सम्बन्धमा उतारचढाव भइरहेको छ।
यसपालि दुई देशबीच व्यापार वार्ता सफल हुनेमा दुवै देशका अधिकारीहरू विश्वस्त रहेको भनेर रोयटर्सले लेखेको छ।
ट्रम्पले पनि सम्मेलनका क्रममा भएका विभिन्न साइडलाइन वार्ताका क्रममा यसपटक चीनसँगको व्यापार वार्ता सफल हुने बताएका छन्।
ट्रम्प र सीबीच व्यापार वार्तका लागि भेट हुनुअघि नै दुई देशले व्यापार सम्झौताको मस्यौदा तयार पारिसकेका छन्।
आइतबार मलेसियाको क्वालालम्पुरमा १३ औं एसियन-युएस सम्मेलनको साइडलाइन वार्ता दुई देशका अधिकारीहरूले छलफल गरेर व्यापार वार्ताको मस्यौदा तयार पारेका थिए।
अमेरिकी वित्तमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रिमियर हे लिफेङ नेतृत्वको प्रतिनिधिमण्डलले तयार पारेको प्रारम्भिक मस्यौदामा दुई देशले नै सहमति जनाएको भनेर यसअघि नै सार्वजनिक भइसकेको छ।
अमेरिकाले चीनले दुर्लभ खनिजमा गर्दै आएको कडाइ एक वर्षका लागि खुकुलो बनाउने आशा राखेको छ।
त्यसको बदलामा अमेरिकाले चीनमाथि १ नोभेम्बरदेखि लागू गर्ने भनेको थप एक सय प्रतिशत भन्सार कार्यान्वयन नगर्ने बताएको छ।
व्यापार वार्तमा दुई देशबीच व्यापार वृद्धि, निर्यात नियन्त्रण,शुल्क स्थगन, फेन्टानिलसम्बन्धी शुल्क, दुर्लभ खनिजका विषयमा सम्झौता हुनसक्ने भनिएको छ।
त्यस्तै लामो समयदेखि ट्रम्पले टिकटक पनि चीनले अमेरिकी कम्पनीलाई बेच्नुपर्ने दबाब दिँदै आएका छन्। नभए अमेरिकामा यसलाई प्रतिबन्ध लगाउने भनेर ट्रम्पले पटकपटक अल्टिमेटम दिँदै आएका छन्। व्यापार वार्तामा टिकटकबारे पनि छलफल हुनेछ।
ट्रम्पले दोस्रो कार्यकालको सुरूवातमै चीनसँग व्यापार युद्ध गरेका थिए।
उनले चिनियाँ आयातमा भन्सार बढाएर त्यतिबेला अमेरिकाले चीनमाथि १४५ प्रतिशतसम्म भन्सार लगाएको थियो। ट्रम्पसँगको व्यापार युद्धमा नझुकेको चीनले त्यतिबेला अमेरिकामाथि पनि १२५ प्रतिशत जबाफी भन्सार लगाएको थियो।
चीन झुक्दै नझुकेपछि स्वीटजरल्याण्डमा दुई देशबीच वार्ता भई ११५ प्रतिशत बिन्दुले भन्सार घटाउने सहमति गरेका थिए।
अब दक्षिण कोरियामा हुने वार्ताबाट सकारात्मक नतिजा आउनेमा दुई देशका अधिकारीहरू आश्वस्त छन्। त्यहाँ समझदारी भए अमेरिका–चीन व्यापार तनाव कम गर्ने र दुवै देशको आपूर्ति श्रृंखला र प्रविधि पहुँचमा स्थायित्व ल्याउने अपेक्षा गरिएको छ।