अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्ता सकिएको छ।
दक्षिण कोरियाको दक्षिणी तटीय सहर बुसनमा बिहीबार बिहान ट्रम्प र सीबीच १ घन्टा ४० मिनेट छलफल भएको हो।
दुवै देशका प्रतिनिधिमण्डलहरू छलफलबाट बाहिरिसकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
छलफल सकिएपछि ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेख्दै दुई देशबीच सम्झौता भएको बताएका छन् ।
'हामीले सम्झौता गर्यौं। छलफल अत्यन्त राम्रो भयो। धेरै निर्णयहरू भएका छन्,' ट्रम्पको भनाइ उद्धृत गरेर रोयटर्सले लेखेको छ।
ट्रम्पले कर र खनिजका सम्बन्धमा पनि महत्त्वपूर्ण निर्णय भएको बताएका छन्।
उनले आगामी अप्रिलमा आफू चीन भ्रमण गर्ने र त्यसपछि राष्ट्रपति सीले अमेरिका भ्रमण गर्ने सहमति भएको पनि बताएका छन्।
पत्रकारहरूले ताइवानको विषयमा छलफल भए/नभएको बारे ट्रम्पलाई प्रश्न गरेका थिए। जबाफमा उनले ताइवान छलफलको विषय नबनेको बताए।
बरू चीनसँग मिलेर युक्रेन युद्ध अन्त्य गर्ने निर्णय भएको ट्रम्पले बताएका छन्।
ट्रम्पले दाबी गरेको विषयमा चिनियाँ पक्षको धारणा आउन बाँकी छ।