नेपाली कांग्रेसका लुम्बिनी प्रदेश कार्यसमिति सभापति अमरसिंह पुन मगरले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका २४८८ जना महाधिवेशन प्रतिनिधि केही पनि होइनन् भन्ने ढंगले व्यवहार गरे त्यसले पार्टीलाई ठूलो क्षति पुग्ने चेतावनी दिएका छन्।
४७४३ महाधिवेशन प्रतिनिधिमध्ये विधानको धारा १२ को २ अनुसार २४८८ जनाले २९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशन माग गरेका थिए। विधानअनुसार ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ।
लुम्बिनी सभापति अमरसिंह पुन मगरले आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै समयमै महाधिवेशन गर्न कार्यवाहक सभापति खड्काको ध्यानाकर्षण गराएका हुन्।
‘२४८८ जना महाधिवेशन प्रतिनिधिका हस्ताक्षर केही होइन भनेर निर्णय गरे पार्टीलाई ठूलो क्षति हुनेछ,’ उनले भने।
उनले लुम्बिनी प्रदेशभर क्रियाशील सदस्यता नवीकरणको खासै ठूलो समस्या नरहेको र केन्द्रले समय दिए नयाँ सदस्यता पनि वितरण गर्न सकिने बताए।
एमाले र माओवादीले मंसिरमा महाधिवेशन गर्ने भने पनि कांग्रेस भने नियमित कि विशेष भन्नेमा अल्झिरहेको उनको भनाइ थियो। ‘क्रियाशील सदस्यतालगायतमा समस्या छ भन्ने देखाएर महाधिवेशन कार्यतालिका नल्याउने? लुम्बिनीमा समस्या छैन। केन्द्रले निश्चित समय दिओस् सबै काम सक्छौं,’ उनले भने, ‘समस्या तल होइन यहीँ छ। नेताहरूमा छ।’
उनले पार्टीलाई एकढिक्का बनाएर लैजान पनि छिटो महाधिवेशन गर्नुपर्नेमा जोड दिए।
‘विधानकै धारा १७ को २ अनुसार हस्ताक्षर गर्नेहरू पार्टी फुटाउने अरू जुटाउने भन्ने ढंगले आ-आफ्ना किसिमबाट व्याख्या गर्ने?,’ उनले प्रश्न गरे, ‘पार्टी एकताबद्ध बनाएर महाधिवेशन गरेर नजाने हो भने यही खिचातानीका बीचमा जनताका बीच जाने र ठूलो पार्टी बनेर आउने कल्पना नगरौं।’