नेकपा एमालेले ११ औं महाधिवेशन काठमाडौंमै गर्ने भएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा बसेको ५९ औं बैठकले महाधिवेशनको स्थल परिवर्तन गरेको हो।
केन्द्रीय कमिटीको १० औं बैठकले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको थियो। एमालेले पहिलो पटक पोखरामा पार्टी महाधिवेशन गर्ने निर्णय गरेको थियो।
एक सचिवालय सदस्यका अनुसार शनिबार बैठकमा महासचिव शंकर पोखरेलले पोखराभन्दा काठमाडौंमै महाधिवेशन गर्न उपयुक्त हुने बताएका थिए। उनले विभिन्न कारण प्रस्तुत गरेका थिए।
त्यस क्रममा भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले आयोगको स्वीकृत बेगर काठमाडौं उपत्यका छाड्न नपाउने गरी स्थान हद तोकिएकाले पोखरामा महाधिवेशन गर्नु उपयुक्त नरहेको बताएका थिए।
'पोखरामा महाधिवेशन गर्न खर्चिलो हुने लगायत कुराहरू राख्दै अध्यक्षलाई स्थान हद तोकिएको विषय पनि राख्नुभएको थियो। त्यही कारण महाधिवेशन सरेको हामीले बुझेका छौं,' ती सचिवालय सदस्यले भने।
महासचिव पोखरेलले यसो भनिरहँदा अध्यक्षले 'अहिले ती कुराहरू नगरौं' भन्दै बीचमै रोकेका थिए। त्यसपछि ११ औं महाधिवेशनको स्थल परिवर्तन गरिएको थियो।
शनिबार बसेको बैठकले ११ औं महाधिवेशनको प्रतिनिधिहरूको निर्वाचन क्षेत्र, सदस्यको अनुपात टुंगो लगाएको छ। एमालेको आगामी महाधिवेशनको २१०० बढी प्रतिनिधि हुनेछन्।