नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तोकिएको मितिमा निर्वाचन नभए संवैधानिक निकास खोजिने बताएका छन्।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सम्मानित नेता खनालले निर्वाचन तोकिएको मितिमा नभए स्वाभाविक रूपमा संवैधानिक निकास खोजिने बताएका हुन्।
त्यसकारण निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्नका लागि सरकारले शान्ति सुरक्षाको ज्ञारेन्टी गर्नुपर्ने उनले बताए।
'शान्ति सुरक्षाको जिम्मा लिन सरकारले सक्नुपर्छ। हुने कुनैपनि त्यस्ता घटनाक्रम रोक्न सक्नुपर्छ। त्यो रोक्ने हुती क्षमता छ भनेर प्रदर्शन गर्न सक्नुपर्छ। त्यो आत्मविश्वास सिर्जना गर्न सकियो भने चुनाव हुन्छ। चुनाव नै समाधान हो,' उनले भने।
तर चुनावै नहुने स्थिति देखा पर्यो भने निकासका बाटोहरू खोजिने उनले बताए।
'स्वाभाविक रूपमा १६ वटा रिट परेको छ। रिटप्रति सबैको ध्यानाकर्षण हुन्छ। अरू कुरा भएन भने रिटमाथि सुनुवाइ गरेर संसद पुनस्थापित होस्। बरू संसद पुनस्थापित हुनुभन्दा अगाडि सबै राजनीतिक दलहरुबीच सम्मेलन गरी उनीहरूबीच समस्याको साझा समाधान निकाल्नुपर्छ,' उनले भने।