नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मुख्य गेटमा युवा विद्यार्थीहरूले विभिन्न माग राख्दै लगाएको ताला आज खोलेका छन्।
मनिष रायमाझी र योन्जोर कार्कीले आज ताला खोलेका हुन्। आज दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक सानेपामा नै बोलाइएको थियो। केन्द्रीय समिति बैठकअघि युवा विद्यार्थीहरूले ताला खोलेका हुन्। उनीहरूले नै ताला लगाएका थिए।
विभिन्न माग राखेर तालाबन्दी गर्दा शिव रिमाल, सुवन गिरी, भुवन भट्ट, प्रेमिका राना मगर, धर्मराज शाही, मनिष रायमाझी, पुजन गन्धर्व, योन्जर कार्की, जगतजंग विष्ट, विनोद शाही ठकुरीलगायत पनि थिए।
त्यसअघि उनीहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटेका थिए। भेटमा युवा विद्यार्थीहरूले आफूहरूले राखेका माग सम्बोधन गर्न भनेका थिए भने कार्यवाहक सभापति खड्काले मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएको नेविसंघ पूर्वकेन्द्रीय कोषाध्यक्ष शिव रिमालले सेतोपाटीलाई जानकारी दिए।
नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टका अनुसार नेपाली कांग्रेस चालु केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तोक्ने, क्रियाशीलको विवरण वेबसाइटमा राख्ने र ४० वर्ष मुनिका ४० प्रतिशत युवालाई पार्टीमा समेट्ने सुनिश्चित गर्न विधान संशोधन गर्न कार्यवाहक सभापति खड्काले मौखिक सहमति जनाएका छन्। 
‘हामीले अराजकता मच्चाउन केन्द्रीय कार्यालयको गेटमा ताला लगाएका थिएनौं, महाधिवेशन तिथिमिति घोषणालगायत माग थिए, ती पूरा गर्नुपर्छ,’ कार्यवाहक सभापति खड्कासँग भट्टले भनेका थिए।
कांग्रेसका एक पदाधिकारीका अनुसार युवा विद्यार्थीहरूले ताला खोलेका छन् र केहीबेरमा केन्द्रीय समिति बैठक सानेपामा बस्नेछ।
आजको बैठकमा महामन्त्री गगन थापाले महाधिवेशन कार्यतालिका पेस गर्ने तयारी गरेका छन् भने सभापति शेरबहादुर देउवा पक्षबाट पनि कार्यतालिका पेस गर्ने तयारी छ। चुनावअघि महाधिवेशन गर्ने कि चुनावपछि भन्नेमा कांग्रेसमा मतभेद हुँदा दुई पक्षबाट भिन्दाभिन्दै कार्यतालिका पेस हुन लागेको हो।