नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि महाधिवेशन गर्नुपर्ने बताएका छन्।
दुई महामन्त्री उम्मेदवार बन्न पाउँदैनौं भन्ने हो भने पनि आफूहरूले स्वीकार गर्ने तर चुनावअघि महाधिवेशन गरेर जानुपर्ने महामन्त्री थापाको भनाइ छ। 
महामन्त्री थापाले आज बसेको केन्द्रीय समिति बैठकमा पुस १६ गतेदेखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन्।
सो क्रममा महामन्त्री थापाले भने, ‘हामी दुई महामन्त्रीको बुझाइ हो- महाधिवेशन नगरी जाँदा पार्टीलाई प्रश्नै प्रश्नले घेर्छ, हामी उत्तर लिएर निर्वाचनमा जानैपर्छ, यसका लागि महाधिवेशन अपरिहार्य छ। यदि दुई महामन्त्री नलड्ने भन्दा तयार हो भने महाधिवेशन गरौं, तपाईहरू मध्ये कोही जिम्मेवारी लिएर जानुहोस्। हामी त तयार छौं, के तपाईंहरू तयार हो? तर, अब ढिलो गर्ने बेला होइन, निर्णय गर्ने बेला हो।’
उनले अहिले हिम्मत देखायो भने कांग्रेस फेरि जनताको विश्वास जित्न सक्नेतर्फ जोड दिँदै यदि डरायो भने इतिहासले दुत्कार्ने पनि बताए।
'यो पुस्ता जसले महान पार्टीको उत्तराधिकार पायो, तर नयाँ युगको जिम्मेवारी पूरा गर्न सकेन। हामीलाई त्यो असफल पुस्ता बन्ने छुट र सुविधा छैन। अब कांग्रेसले पुनः सिद्ध गर्नुपर्छ 'हामी चुनाव वा पदका लागि होइन, देशका लागि लड्छौं। हामी सत्ताका लागि होइन, सुधारका लागि उठ्छौं। यो हाम्रो यस्तो युगिन क्षण हो, देशलाई भन्नको लागि;
“यो उही कांग्रेस होइन। यो नयाँ कांग्रेस हो - जिम्मेवार, सुधारमुखी र भविष्यप्रति प्रतिवद्ध,’ उनले भने।
साथै उनले आत्मसमीक्षा गर्नुपर्ने बताए।
‘हामीले यस्तो अवस्थामा सामान्य समयमा हुने निर्वाचनजस्तो त्यसको तयारी मात्र गरौँ भनेर पुग्छ त ? के मतदाताको विशाल पंक्ति हाम्रो पक्षमा भोट हाल्न आतुर भएर बसिरहेको अवस्था हो? तत्कालिन सरकारको मुख्य हिस्सेदारका हैसियतले भाद्र २३ मा के भएको थियो भनेर उनीहरूले प्रश्न गरे, हामीले दिने जबाफ के हुन्छ? एकपटक निर्मम आत्मसमीक्षा नगरिकन हामी एक डेग पनि अगाडि बढ्न सक्दैनौं। पार्टीका साथीहरू र सदस्यहरूसँग गरिने सघन संवादले मात्र हामीले बाटो पहिल्याउन सक्छौं। महाधिवेशनले मात्र हामीलाई त्यो अवसर दिन्छ,’ उनले भने।
भदौ २३ अगाडिकै संरचना लिएर जाने, बदलिएको र सच्चिएको केही पनि आभास नदिने हो भने नागरिकले को हौ तिमीहरू भनेर प्रश्न गर्ने पनि थापाको भनाइ छ।
‘भदौ २२ अघि र अहिलेमा के फरक छौं, हामीले तिमीलाई फेरी भोट किन दिनुपर्ने? भनेर प्रश्न गर्दा हामीसँग के उत्तर हुन्छ? यो प्रश्नको उत्तर दिनु कुनै प्राविधिक कुरा होइन, विशुद्ध राजनीतिक कुरा हो र राजनीतिक नैतिकता, इमान्दारी र सच्चाइको कुरा हो। एउटा जिम्मेवार राजनीतिक दलले पूरा गर्नुपर्ने युगधर्मको कुरा हो,’ थापाले केन्द्रीय समिति बैठकमा भने।
साथै उनले असोज २८ मा बसेको पहिलो दिनको केन्द्रीय समिति बैठकबाट सभापति शेरबहादुर देउवाले जिम्मेवारी हाम्रा काँधमा छाडेर गएको पनि उल्लेख गरे।
‘नेपाली कांग्रेसले आफ्नो नेतृत्व बदलेर नयाँ वैचारिकी र सैद्धान्तिकीमार्फत त्यो गुमेको भरोसा र विश्वास पुन: प्राप्त गर्न सक्छ। त्यसका लागि आम निर्वाचन अगाबै अधिवेशन जरुरी छ। एक्काइसौं शताब्दीको लोकतान्त्रिक पार्टीले तिब्र गतिमा बदलिएको राष्ट्रिय राजनीतिक परिस्थितिलाई अन्देखा गरेर, अकर्मण्य भएर किमकर्तव्यविमुढ हुँदै कालक्षेपण गर्दै बस्न मिल्दैन। यो त परिस्थितिको तकाजा बुझेर राष्ट्रिय लक्ष्य भेदन गर्न युद्धस्तरमा कार्य गर्ने समय हो,’ उनले भने।
साथै राष्ट्रिय राजनीतिमा आएको उथुलपुथलकारी बदलाबपछि पनि पार्टीको नीति र नेतृत्वको संरचनागत परिवर्तन नगरी निर्वाचनमा जानु भनेको चरम आत्ममुग्धता वा मूढता हुने उनले बताए।
‘आज नेपाली कांग्रेसको स्वर्णिम इतिहासमा हामीले नयाँ मिसाल थप्ने, जग मजबुत गर्ने समय हो, सिङ्गो देशलाई आशा र भरोसा दिलाउने समय हो। त्यसैले देशभरका कार्यकर्तासँग एउटै थलोमा भेला भएर यथासक्य छिटो प्रत्यक्ष र दोहोरो संवाद गरेर मात्रै हामीले राष्ट्रिय संकटको निकास दिन सक्छौं,’ उनले भने।
अहिले विशेष र असामान्य परिस्थिति भएको हुँदा महाधिवेशनको विकल्प नरहेको उनले बताए।
विधानको धारा १७ (१) बमोजिम नियमित १५ औं महाधिवेशन नगर्ने हो भने विशेष केन्द्रीय महाधिवेशन निर्विकल्प बाटो हुने उनले बताए।
‘विशेष केन्द्रीय महाधिवेशनको माग गर्दै ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यसमितिमा निवेदन दिइसकेको अबस्था छ। यही केन्द्रीय कार्यसमितिको बैठकबाट विधानको धारा १७(२) मा भएको व्यवस्था अनुसार २०८२ मंसिर मसान्तभित्र विशेष केन्द्रीय महाधिवेशनको गर्ने निर्णय गर्नुपर्छ। विशेष केन्द्रीय महाधिवेशनबाट माथि उल्लेखित कार्यभार पूरा गरौं, विधान परिमार्जन गरौँ, निर्वाचनमा जाऔँ बाँकी पार्टीका आन्तरिक विषय महाधिवेशनपछि गरौंला,’ उनले भने।
पूर्णपाठ: