नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जेनजी पुस्ताको आन्दोलनको भावना कांग्रेसले सम्बोधन गर्ने हो भने आफूलाई सभापति बनाउन आग्रह गरेका छन्।
आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्दै काफ्लेले २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको १४ औं महाधिवेशनमा आफू खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएको र कान्छो केन्द्रीय सदस्यसमेत रहेको दाबी गर्दै जेनजीको माग पूरा गर्न आफूलाई सभापति बनाउन आग्रह गरेका हुन्।
उनले तीन बुँदामा केन्द्रित रहेर धारणा राखेका थिए।
पहिलो- महाधिवेशन गर्ने कि फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा होमिने हो एउटा निर्णय लिन भनेका थिए। दुवै एकैचोटि तयारी गर्न नसकिने उनको भनाइ थियो।
दोस्रो- सामाजिक सञ्जालमा नेताहरूमाथि एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्न नहुनेमा उनले जोड दिएका थिए।
तेस्रो- जेनजी पुस्ताको माग सम्बोधन गर्ने भए आफूलाई सभापति बनाउन उनको आग्रह थियो।
‘नेपाली कांग्रेसले जेनजी आन्दोलनको भावनालाई सम्बोधन गर्ने हो भने म कान्छो केन्द्रीय सदस्य म हो, खुलातर्फ जितेर पनि आएको हो, मलाई सभापति बनाउपर्छ,’ केन्द्रीय समिति बैठकपछि सेतोपाटीसँग कुराकानी गर्दै उनले भने, ‘नेतृत्व बारम्बार फेल भइसकेको अवस्था छ। संकटका बेला इतिहासमा कांग्रेसले नेतृत्व गरेको थियो, यसपालि गर्न सकेन। पदाधिकारीहरू चुक्नुभयो।’
दुई जना महामन्त्री पनि असफल भइरहेको दाबी गरेका उनले सबैको प्रतिनिधित्व हुने गरी आफूलाई सभापति बनाउन आग्रह गरेका थिए।
केन्द्रीय समिति बैठक भोलि बिहान ११:३० बजे सानेपामा बस्ने गरी स्थगित भएको छ।