सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरूद्ध परराष्ट्र मन्त्रालयले राजदूतहरूलाई फिर्ता बोलाएपछि नेपाल बार एशोसिएसनले अदालतको आस्थामा आँच आउने काम नगर्न अनुरोध गरेको छ।
नेपाल बारका महासचिव एवं वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले बुधबार विज्ञप्ति जारी गरी अदालतको आदेश वा फैसलाको अक्षरश पालना गर्न अनुरोध गरेका हुन्।
‘अदालतको फैसला वा आदेशको परोक्ष रूपले पालना नगर्ने कार्यले स्वेच्छाचारिताको प्रवर्धन गर्दछ। अदालतको आदेश वा फैसला अक्षरश पालनाका लागि अनुरोध गर्दै अदालतप्रतिको आस्थामा आँच आउने कुनै पनि कार्य नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।
सरकारले ११ वटा देशमा रहेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेपछि सर्वोच्च अदालतमा रिट परेको थियो।
उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलले आइतबार राजदूत फिर्ता गर्ने निर्णयलाई कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेका थिए।
‘अन्तिम आदेश ठहरे बमोजिम हुने नै हुँदा हाललाई उक्त मन्त्रिपरिषदबाट असोज ३० मा भएको राजदूत फिर्ता गर्नेसम्बन्धी निर्णय कार्यान्वयन नगर्नू, नगराउनू, गर्न नलगाउनु, यथास्थितिमा राख्नू, राख्न लगाउनु भनी विपक्षीहरूका नामा अन्तरिम आदेश जारी गरेको छ,’ आदेशमा भनिएको छ।
आदेश जारी भए पनि परराष्ट्र मन्त्रालयले सोमबार ११ राजदूतलाई निर्णयबारे जानकारी गराउँदै अर्को व्यवस्था नभएसम्मलाई फर्किन अनुरोध गर्दै पत्राचार गरेको थियो।
११ देशका राजदूतलाई कात्तिक २० गतेभित्र काटिसकेको हवाइ टिकट प्रयोग गरी फर्किन भनिएको थियो।
