नेकपा (एकीकृत समाजवादी)की नेता रामकुमारी झाक्रीले आफ्नो दल र माओवादी केन्द्रसहित ८ पार्टीबीचको एकताले बृहत्तर वामपन्थी एकता र प्रगतिशील आन्दोलनलाई रोक्ने बताएकी छन्।
बुधबार काठमाडौंको बसेरा होटलमा आयोजित पत्रकार सम्मेलनमा नेता झाक्रीले एकता हुन लागेको पार्टीमा सबै ओत लाग्न मात्रै गएका हुनाले यसले सिंगो वामपन्थी एकतालाई रोक्ने बताएकी हुन्।
'किनभने त्यहाँ त सबै ओत लाग्ने मात्रै कुरा भइरहेको छ। ओत लाग्ने भनेको आफ्नो सुरक्षाको कुरा भइरहेको छ। आफ्नो सुरक्षाका लागि हर चिजको सौदाबाजी हुनेवाला छ,' उनले भनिन्।
यो एकतालाई मानिसहरूले बञ्चरेडाँडासँग तुलना गरेको पनि उनले बताइन्।
'यो एकताले पार्टी र आन्दोलनलाई पुनर्गठन गर्छ कि यो बञ्चरेडाँडा हो भनिरहेका छन्। बञ्चरेडाँडा सांकेतिक हिसाबले डम्पिङ साइट हो। जहाँ अर्ग्यानिक र ननअर्ग्यानिक दुवै प्रकारका फोहोर फालिरहेका छौं,' उनले भनिन्।
उनले तीन लाख मतदाता भएको पार्टी भए पनि त्यो आफ्नो हातमा नरहेको बताइन्।
'हामीले के गर्छौं भने विचार सिद्धान्त मिल्ने पार्टीमा एकताबद्ध हुने नै हो। त्यसो गर्दा कम्तिमा रूपान्तरित हिसाबले हामी जाऔं। हामी पनि रूपान्तरण हुन आवश्यक छ,' उनले भनिन्।
कहाँ उभिने भन्ने कुरामा देशैभरि एकीकृत समाजवादीका नाममा संगठित भएका वडा तहदेखि केन्द्रीय तहसम्मका नेताहरूलाई एकताबद्ध हुन उनले अपिल गरिन्।
'जहाँ जहाँ छ उभिऔं, बाटो अवरूद्ध छ, एकैछिन दृष्टिगौचर गरौं र क्षितिजपारि उज्यालो छ भन्ने कुरा देखेर फेरि पाइला अगाडि बढाउनेछौं,' उनले भनिन्।