नवघोषित नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाललाई प्रश्नै प्रश्न गरेका छन्।
बुधबार भृकुटीमण्डपमा भएको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै नेता गौतमले संविधानको प्रस्तावनामा लेखिएको समाजवाद र नेताहरूले भन्दै आएका क्रान्तिबारे प्रश्न गरेका हुन्।
गौतमले कैयौंपटक प्रधानमन्त्री बनेको, बनाइएको भए पनि संविधानको प्रस्तावनामै व्यवस्था भएको समाजवाद निर्माण नभएको विषयमा जबाफ मागे।
'संविधान अनुसारको समाजवाद किन निर्माण भएन? कहिले त्यो निर्माण गर्ने कोसिस गर्नुभएन? जबाफ दिनुहोला?,' उनले भने।
संविधानमा लेखिएको कुरा नगरेर नेताहरू क्रान्ति गर्ने भन्दै हिँडेको विषयमा पनि गौतमले प्रश्न गरे।
'त्यो समाजवादमा हामी नगएको हुनाले नै राजा फर्किने घटनाहरू भए। त्यो समाजवाद निर्माणमा प्रवेश नगरेको हुनाले जेनजी आयो। र आज हामी फेरि पुरानो अवस्थाबाट फर्केर आउँदै छौं। किनकी हाम्रो सिद्धान्तले भन्छ जे गर्नुपर्ने हो त्यो गरिएन भने अर्को आउँछ। र अर्कोले शासन गर्छ,' उनले भने।
नेताहरूले भन्दै आएको क्रान्तिबारे पनि स्पष्ट पार्न गौतमले माग गरे।
'क्रान्ति कुन हो? फेरि बन्दुक बोकेर हिँड्ने क्रान्ति हो कि, फेरि जनतालाई वलिदान गर्ने क्रान्ति हो कि? कुन हो प्रष्ट हुनुपर्छ,' उनले भने।
समाजवादी क्रान्ति भनेको कस्तो किसिमको क्रान्ति हो भन्ने विषयमा पनि प्रष्ट पार्नुपर्ने गौतमले बताए।
'यो हो भनेर भन्नुपर्छ तब मात्रै मैले कामरेडहरूलाई काँधमा हालेर बोकेर हिँड्छु,' उनले भने।
संविधानमा उल्लेख भएको समाजवाद लागू गर्न सम्भव रहेको पनि उनले बताए।
'१० पार्टीलाई एक ठाउँमा ल्याएका छौं। विभाजिन भएका कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउने काम आज भन्दा कहिल्यै पनि भएका छैन। त्यो हामीले गरेका छौं। यो पार्टी सबैभन्दा ठूलो र धेरै संरचना बोकेर आएको र सबैभन्दा धेरै वलिदान बोकेर आएको पार्टी हो। त्यसकारण यो पार्टीले तुरून्तै त्यो काम गर्न सक्छ,' उनले भने।
अर्को प्रश्न पार्टी सञ्चालनको आर्थिक स्रोत के हो भन्ने विषयमा पनि खुलस्त पार्नुपर्ने बताए।
'पार्टीलाई चाहिने आर्थिक व्यवस्था कसरी गर्ने भन्ने भयो कहिले? कुनै महाधिवेशनमा पास भएको छ? पार्टीको सञ्चालनको आर्थिक स्रोत के हो? पुँजीपतिहरूसँग चन्दा मागेर पार्टी चलाउने यस्तो हुँदैन,' उनले भने।
एकीकृत पार्टीले अब यसको अन्त्य गर्नुपर्ने गौतमले बताए।
'हामी उत्पादनमा आधारित पार्टी निर्माण गर्छौं। प्रुत्येक नेताले कुनै न कुनै संरचनामा वर्षमा एक महिना महिनामा पाँच दिन भए पनि काम गर्नुहुन्छ। र त्यो आम्दानीले खर्च चलाउनुहुन्छ। यो सक्नुहुन्छ कि सक्नुहुन्न?,' उनले संयोजक प्रचण्ड र सहसंयोजक नेपाललाई प्रश्न गरे।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने पनि बताए।
यसमा जनता पनि साथ दिन तयार रहेको उनको दाबी छ।
'त्यसो गरियो भने हामीसँग अहिले भएका १०/१२ लाख पार्टी सदस्य छन्। जनताको बीचमा गयौं भने ६ महिनामा त्यो बढेर २० लाख पुग्नेछ। एक वर्षमा त्यो ५० लाख पुग्नेछ। पार्टी सदस्यको संख्या १ करोड पुग्नेछ। पार्टी सदस्य र जनताको समर्थनको चिन्ता नगर्नुस्,' उनले भने।