नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले महाधिवेशन जहिले भए पनि चुनाव र अधिवेशन दुवै कुराका लागि पार्टी संरचना चलायमान हुनुपर्ने बताएका छन्।
आजको केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘अधिवेशन जहिले भए पनि चुनाव र अधिवेशन दुवै कुराका लागि पार्टीका सम्पूर्ण संरचना चलायमान हुनुपर्छ। साढे आठ लाख बढी संख्यामा रहेका क्रियाशील सदस्यता नवीकरण हुनुपर्ने र पार्टीमा लामो समयदेखि घट्दै गएको युवा सहभागितालाई नयाँ क्रियाशील सदस्यता वितरण र विस्तार गर्दै अगाडि बढ्नुपर्छ।’
उनले फागुनमा निर्वाचन हुने हो भने महाधिवेशन वैशाखमा गर्दा उपयुक्त हुने बताए। यदि फागुन २१ को चुनाव सरेर वैशाखमा पुग्ने अवस्था आउने देखिएमा फागुनमै महाधिवेशन गर्नु उपयुक्त हुने उनको भनाइ छ।
उनले पार्टी केन्द्रीय समिति अनिर्णयको बन्दी बन्नु नहुने भन्दै हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पनि हुन नहुनेमा जोड दिए। एकता, संवाद र सहमतिबाट निष्कर्षमा पुग्न उनको आग्रह छ।
जेनजी आन्दोलनले युवासम्म जाने, युवाका मुद्दा सम्बोधन गर्ने र सहभागितालाई पार्टीका तह र तप्कामा सुनिश्चित गर्न महत्वपूर्ण अवसर प्रदान गरेको भन्दै त्यो अवसर पार्टीले गुमाउन नहुने बताए।
चार वर्षभित्र हुनुपर्ने अधिवेशन निर्धारित समयभित्र हुनुपर्छ र नभए पार्टीले निर्धारित गरेको समय सीमाभित्र गर्न पर्ने आवश्यक तयारी समयमै गर्नुपर्दछ भन्ने पार्टीका सीमित व्यक्तिमध्ये आफू पनि एक भएको उनले बताए।
‘त्यसवापत मैले केही अवमूल्यन र आक्रमण सहनु परेता पनि विवेकको बोली बोल्न पछि हट्न हुँदैन भन्ने मान्यताले पार्टीका केहि नेताहरुका साथ सदन, पार्टीका फोरमहरु, सञ्चारमाध्यम र देशव्यापी भ्रमण गरेर यो सन्देश दिने कोशिस गरेको हुँ। आज महाधिवशेन फेरि ठूलो बहसको मुद्दा बनेको छ। विधानले निर्दिष्ट गरेको जिम्मेवारीलाई हामी केन्द्रीय समितिका सदस्यहरुले निर्वाह नगर्दा यो विवाद विस्तारित भएर पार्टी अस्तित्व र एकताको संकटका रुपमा उपस्थित भएको छ,’ उनले भने।
लामो समयदेखि पार्टीमा भेदभाव, विभाजन, मूल्यांकनको अभाव र अवसर प्रदान गर्दा न्याय र पारदर्शिताको कमिले पार्टीमा रहेका असन्तुष्टि पनि विशेष अधिवेशनका मागमा क्रममा जोडिएर आएको उनले बताए।
‘केन्द्रीय समितिले आफ्नो कमिकमजोरी महसुस गरेर साथीहरूलाई पार्टीको अगाडी भएको वाध्यता र सीमित विकल्प रहेको बताउन हस्तक्षरकर्ता पार्टीका युवा नेताहरुसँग वार्ता संवाद र छलफल गर्न ढिला गर्नु हुन्न,’ उनले भने।