नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ किसानले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आज भेटवार्ता भएको र आफूहरू एमाले फर्कन लागेको बताएका छन्।
गुण्डुस्थित ओली निवासमा एकीकृत समाजवादीका नेताहरू र अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो।
उक्त भेटमा अध्यक्ष ओलीले एकीकृत समाजवादीका नेताहरूलाई एमालेमा फर्कन आग्रह गरेका थिए।
भेटवार्तामा अध्यक्ष ओलीले भनेका कुराबारे जानकारी दिँदै किसानले भने, ‘तपाईंहरूको इज्जत र मानसम्मान पार्टीभित्र हुन्छ, तपाईंहरू घर फर्कनुस्।’
अध्यक्ष ओलीले यसो भनेपछि स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीसहित नेताहरूले एमाले फर्कन तयार रहेको कुरा बताएका थिए। त्यसपछि अध्यक्ष ओलीले कात्तिक २४ गतेको समय दिए।
‘घर फर्कने अभियान चलेको छ, कात्तिक २४ गते कार्यक्रम आयोजना हुनेछ, हामी बढीभन्दा बढी मानिससहित एमालेमा फर्कदैछौं,’ नेता श्रेष्ठले भने।
आज गुण्डुस्थित ओली निवासमा स्थायी कमिटी सदस्य झाक्री, निवर्तमान सांसद श्रेष्ठ, पोलिट्ब्युरो सदस्य पिताम्बर भण्डारी, केन्द्रीय सदस्य नवराज पौडेल, अर्जुन राईसहित नेताहरू पुगेका थिए।
भेटमा एमाले महासचिव शंकर पोखरेललगायत नेताहरू पनि थिए।
माधवकुमार नेपाल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुँदा झाक्रीसहित नेताहरू सहभागी भएका थिएनन्।