नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने टिप्पणी गरेका छन्।
बिहीबार काठमाडौंको भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो टिप्पणी गरेका हुन्।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार रहस्यमय तरिकाले गठन गरिएको भन्दै उनले सरकार गठनका पछाडि षड्यन्त्र लुकेको पनि टिप्पणी गरे।
उनले जेनजी विद्रोहले नेपालमा संसदीय व्यवस्था पूर्णतः असफल भएको पुष्टि गरेको पनि जिकिर गरे।
उनले संसद विघटन भइसकेपछि कुशासन र भ्रष्टाचार मार्फत् देश लुट्ने समूहहरू सक्रिय रहेको उल्लेख गर्दै जनताले प्रतिवाद गर्न तयार हुनुपर्ने बताए।
महासचिव चन्दले संविधान संशोधन र पुनर्लेखनको आवश्यकता रहेको उल्लेख गर्दै राज्यको पुनःरचना जनताको हितअनुसार हुनुपर्नेमा जोड दिए।
प्रशासनिक सुधार, विश्वविद्यालयस्तरबाट दक्ष प्रशासनिक जनशक्ति तयार पार्नुपर्ने र नेताहरूको सम्पत्ति आर्जनको स्रोत छानबिन गर्नुपर्ने पनि उनको माग छ।
उनले भने, ‘नेपालमा संसदीय व्यवस्था नराम्रोसँग असफल भयो। जेनजीले नै संसद र सरकारविरूद्ध नारा लगाए। हामीले पनि साथ दियौं। तर जेनजी आन्दोलन पनि सफलताको दिशामा छ। यदि जेनजीको मागहरू पूरा हुन नसके जेनजी आन्दोलन जनआन्दोलनभन्दा ठूलो विद्रोहको रूपमा अघि बढ्न सक्छ। त्यसैले समयमै हामी सबैले सोच्नुपर्छ। संसद विघटन त भएको छ तर देशलाई लुटेका लुटेराहरू खुला रूपमा भाषण गर्दै हिँडिरहेका छन्। हामीे जेनजी आन्दोलनलाई पूर्णतः सफल बनाउन हामीले केही अपिल गर्दै आएका छौं।’
उनले अगाडि भने, ‘सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई छिटोभन्दा छिटो सर्वपक्षीय अन्तरिम सरकारमा बदल्नुपर्छ। सरकारमा कार्की सहितका मन्त्रीहरूलाई कसले ल्यायो। रहस्यमय तरिकाले सरकार गठन गरियो? त्यसकारण षड्यन्त्रकारी कुराबाट अगाडि जाने कुराले मुलुकलाई ध्वस्त पारेको छ। संविधान संशोधन र पुनर्लेखन गर्नुपर्छ, त्यहीअनुसार राज्यको पुर्नसंरचना गर्नुपर्छ। अहिले पनि राज्यका संरचनाहरू नेपाली जनताका भएका छैनन्। आज नेताको सम्पत्तिहरू त जल्यो तर त्यो सम्पत्ति कसरी आर्जन गरियो भन्ने कुराको खोजी गर्नुपर्छ कि पर्दैन?’
उनले जेनजी आन्दोलनका मागहरूप्रति राजनीतिक दलहरूले गम्भीर नभए देश फेरि अस्थिरतामा फस्न सक्ने चेतावनी समेत दिए।–न्युज एजेन्सी नेपाल