जोहरन ममदानी न्यूयोर्कको मेयर निर्वाचित भएपछि उनी चर्चाको शिखरमा छन्। विश्वभरका युवा र समाजवादीहरूका लागि प्रेरणाको स्रोत बनेका छन्।
उनीसँगै विजय उत्सवमा सहभागी भएकी उनकी श्रीमती रमा दुवाजी पनि चर्चामा आएकी छन्।
चर्चित भारतीय-अमेरिकी फिल्म निर्देशक मीरा नायर र प्रख्यात विद्वान महमुद ममदानीका ३४ वर्षीय छोरा ममदानी २०२१ मै न्यूयोर्क राज्यको सांसद निर्वाचित भएकाले उनलाई न्यूयोर्कबासीले अलिअलि चिन्थे। तर ममदानी र २८ वर्षीया दुवाजीले गत फेब्रुअरीमा मात्रै विवाह गरेका हुन्। त्यसमाथि दुवाजी चुनाव प्रचारका क्रममा खासै सहभागी नभएकाले पनि उनलाई खासै मान्छेले चिन्दैन थिए।
तर ममदानीले चुनाव जितेपछि भने विजय उत्सवमा सँगै उभिएकी सिरियाली मूलकी सुन्दरीको तस्वीर पनि अहिले विश्वभरि छापिएका छन्।
राजनीतिमा आउनुअघि ममदानी र्यापर थिए। उनले झण्डै एक दशकअघि उनकी आमा नायरको एक फिल्मको संगीतमा पनि काम गरेका थिए।
ममदानी र उनकी आमा जस्तै दुवाजी पनि कला क्षेत्रसँगै जोडिएकी हुन्। एनिमेटर र इलुस्ट्रेटरका रूपमा काम गरेकी दुवाजी सेरामिकका भाँडा पनि बनाउँछिन्।
दुवाजीको जन्म अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा सिरियाली परिवारमा भएको थियो। उनका बुबा कम्प्युटर इन्जिनियर हुन् भने आमा डाक्टर। उनी नौ वर्षकी हुँदा भने परिवार बसाइँ सरेर दुबई गयो। त्यहीँ पढेकी दुवाजीले कलेज भने अमेरिकामा पढिन्।
बेलायती पत्रिका द टाइम्सका अनुसार २०२१ मा अमेरिका फर्किएपछि एक डेटिङ एपको माध्यमबाट उनको ममदानीसँग भेट भएको थियो। गत वर्षको अन्त्यतिर इन्गेजमेन्ट गरेका दुई जनाले फेब्रुअरीमा मात्रै विवाह गरेका हुन्।
न्यूयोर्क महानगरमा लामो समयदेखि प्रथम महिला नभएकाले पनि दुवाजीप्रति स्थानीयमा चासो बढेको मानिन्छ। यसअघिका मेयर एरिक एडम्स अविवाहित हुन्। औपचारिक कार्यक्रममा ममदानीसँगै राम्री दुवाजी पनि देखिने अपेक्षाले पनि यस्तो भएको हुनसक्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)