नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले विशेष महाधिवेशन गर्न माग गरेका छन्।
आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै आचार्यले मंसिर २४ गतेदेखि सुरू गर्ने गरी विशेष महाधिवेशन गर्न आग्रह गरेका हुन्।
‘हाम्रो प्रचलनअनुसार महाधिवेशन कार्यतालिका महामन्त्रीले जे प्रस्ताव गर्यो त्यही हुने थियो तर अरूले पनि प्रस्ताव पेस गर्न पाउने हो भने मेरो पनि एउटा प्रस्ताव छ, मंसिर २४ गतेदेखि सुरू गर्ने गरी विशेष महाधिवेशन गरौं,’ आचार्यले भने।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए। विधानको धारा १७ को उपधारा २ अनुसार तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ।
‘छोटो समयमा महाधिवेशन सम्पन्न गर्नुपर्नेछ, चुनाव तयारीका लागि प्रशस्त समय पनि दिनुछ, चुनावलाई पहिलो प्राथमिकता बनाएर जानु सत्य हो, यो सबैका लागि विधानमा व्यवस्था भएको १७ (२) अनुसार मंसिर २४ गते जुन दिन मंगलादेवी सिंहको जन्मजयन्तीदेखि सुरू हुने गरी विशेष महाधिवेशन आयोजना गरौं,’ उनले केन्द्रीय समितिमा भने, ‘विधानले प्रष्ट भनेको छ- विशेष परिस्थितिमा विशेष महाधिवेशन हुन्छ। केन्द्रीय समितिले आवश्यक ठानेर विशेष महाधिवेशन गरौं। हामी आफै आयोजना गरेपछि कसले हस्ताक्षर गर्यो वा गरेन भन्न परेन, सिंगो केन्द्रीय कार्यसमितिले नै आयोजना गर्छ र अहिलेको समस्याको निकास पनि दिन्छ।’
उनले विशेष महाधिवेशन माग गर्नेहरूले कार्यवाहक सभापतिलाई हस्ताक्षर बुझाएको र दर्तासमेत गरेको बताए। ‘यति धेरै साथीहरूले हस्ताक्षर गर्नुभएको छ, त्यसलाई अस्वीकार गरेर जान मिल्छ?,’ उनले प्रश्न गरे।
उनले केन्द्रीय समिति बैठक चलिरहँदा पार्टीकै विभिन्न पक्षहरूबाट भेलाहरू भइराखेको पनि बताए। उनले जेनजी पुस्ताले उठाएका मागहरू सम्बोधन गरेर जानुपर्ने पनि बताएका छन्।
प्रत्येक प्रतिनिधि सभा क्षेत्रबाट जेनजी पुस्ताका प्रतिनिधि पठाउन भनेर व्यवस्था गर्न सकिने उनले बताए। उनले पूर्वपदाधिकारीहरू अभिभावक रहेको भन्दै कहिले महाधिवेशन हुन्छ या हुँदैन भनेर आफै 'पोजिसन' नलिन पनि आग्रह गरेका छन्।