नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मंसिर २७ गतेदेखि हुने ११ औं राष्ट्रिय महाधिवेशनले पार्टीको मात्र नभई सिङ्गो राष्ट्रको भविष्य निर्धारण गर्ने दाबी गरेका छन्।
आसन्न महाधिवेशनलाई समृद्धि र समाजवादको यात्रासँग जोडिएको भन्दै उनले महाधिवेशनको माध्यमबाट देशलाई स्थायित्व, विकास र राष्ट्रिय एकताको बाटोमा अघि बढाउने बताए।
नेकपा एमाले लुम्बिनी प्रदेशको बुटवलमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले चितवनमा सम्पन्न दसौं महाधिवेशनले तोकेको मापदण्ड र पद्धतिलाई कायम राख्दै आगामी महाधिवेशनका प्रतिनिधि चयन गर्नुपर्ने बताए।
एमालेमाथि विभिन्न पक्षबाट प्रहार भइरहेको र त्यसलाई परास्त गर्नका लागि पार्टीलाई अझ सबल र जनमुखी बनाउन सबै स्तरका नेता कार्यकर्ताको भूमिका महत्त्वपूर्ण हुने उनले बताए। उनले पार्टीमाथि भएका हरेक प्रहारलाई प्रतिरोध गर्दै जनताको भरोसा पुनः स्थापित गर्न नेता कार्यकर्तालाई निर्देशन दिए।
पौडेलले प्रतिगमनविरुद्धको आन्दोलन र प्रतिनिधिसभा पुनः स्थापनाका लागि हुने सङ्घर्ष कार्यकर्ताको परीक्षाको घडी भएको भन्दै जनताको अधिकार र लोकतन्त्रको रक्षाका लागि अग्र पङ्क्तिमा उभिन आग्रह गरे।
नेकपा एमालेकी सचिव पद्मा अर्यालले एमालेलाई लोकतन्त्र, सुशासन र विकासको जिम्मा बोकेको एक मात्र शक्तिका रूपमा परिभाषित गर्दै सुशासन कायम गर्ने एजेन्डा पार्टीको मुख्य अभियान रहेको बताइन्।
उनले गत भदौ २३ र २४ को घटनाले मुलुकको संस्कृति, राजनीतिक मूल्य र इतिहासमाथि आक्रमण भएको र त्यसले जनताको विश्वास कमजोर बनाएको उल्लेख गरिन्।
लुम्बिनी प्रदेशका सबै जिल्ला कमिटी, जनसङ्गठन र महिला नेतृहरूलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिँदै अर्यालले उक्त घटनाले दिएको चेतावनीलाई पार्टीले आत्मसात् गर्नुपर्ने बताइन्।
बैठकमा भदौ २३ र २४ गतेको घटना र त्यसपछि फेरिएको राजनीतिक घटनाक्रम, पार्टीको आसन्न महाधिवेशन लगायतका विषयमा छलफल भएको एमालेले जनाएको छ।