राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक सरेको छ।
कात्तिक २७ र २८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक सारेर मंसिर २४ र २५ गतेका लागि पुर्याइएको हो।
महामन्त्रीसमेत रहेका सचिवालय प्रमुख राजेन्द्र गुरूङले आज एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘कार्तिक २७ र २८ गतेका लागि पूर्वनिर्धारित केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवश मंसिर २४ र २५ गते काठमाण्डौंमा बस्ने गरी तोकिएको छ।’
अध्यक्ष राजेन्द्र लिङ्देन र दुई जना पूर्व अध्यक्षहरू पशुपति शम्शेर राणा तथा प्रकाशचन्द्र लोहनीसँग परामर्शपछि केन्द्रीय समितिको बैठक सारिएको उनको भनाइ छ। पार्टीभित्र देखिएका आन्तरिक समस्या समाधान गरी केन्द्रीय समिति बैठक गर्न लागिएको अध्यक्ष राजेन्द्र लिङ्देननिकट नेताहरूले दाबी गरेका छन्।
गत माघदेखि राप्रपाको केन्द्रीय समिति बैठक बसेको छैन।
महामन्त्री धवल शम्शेर राणाले २०८१ माघ ११ देखि १३ सम्म चलेको केन्द्रीय समिति बैठकमा ६ पृष्ठको राजनीतिक विचार पेस गरेका थिए। फरक विचार राख्दै महामन्त्री राणाले अध्यक्ष लिङ्देनको कार्यशैलीको विरोध गरेका थिए।
यसअघि भदौमा पनि केन्द्रीय समिति बैठक राख्ने भनिएकोमा राखिएको थिएन।
महामन्त्री धवल शम्शेर राणाले केन्द्रीय समिति बैठक माग गर्दै आएका छन्। उनले महाधिवेशन मिति घोषणा गर्न पनि आग्रह गर्दै आएका छन्।
२०७८ मंसिरमा राप्रपाले महाधिवेशन गरेको थियो। चार वर्षे नियमित कार्यकाल मंसिर १८ गते सकिँदैछ। त्यसअघि नै महाधिवेशन गर्न महामन्त्री राणाले अध्यक्ष लिङ्देनलाई आग्रह गर्दै आएका थिए। तर अध्यक्ष लिङ्देनले मंसिर मसान्तमा बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान गरेका छन्। अब विधानमा भएको व्यवस्थाअनुसार एक वर्ष कार्यकाल थप गर्ने पक्षमा अध्यक्ष लिङ्देन रहेको देखिन्छ।
महामन्त्री धवल शम्शेर राणाले भने केन्द्रीय समिति बैठक सारिएकोबारे आफूलाई जानकारी नरहेको बताए। ‘केन्द्रीय समिति बैठक सारेकोबारे मलाई जानकारी छैन,’ आइतबार साँझ सेतोपाटीसँग कुराकानी गर्दै उनले भने।