राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वअध्यक्षहरू पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीसँग परामर्श गरेका छन्।
अध्यक्ष लिङ्देनले आज दुई पूर्वअध्यक्षसँग पार्टीभित्रका आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गरेको राप्रपाले जनाएको छ।
भेटमा पार्टीभित्र देखा परेका असमझदारीलाई मिलाएर केन्द्रीय समिति बैठक गर्ने उनीहरूबीच समझदारी बनेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
राप्रपाले कात्तिक २७ र २८ गतेका लागि बोलाएको केन्द्रीय समिति बैठक सारेर मंसिर २४ र २५ गतेका लागि पुर्याइएको छ।
महामन्त्रीसमेत रहेका सचिवालय प्रमुख राजेन्द्र गुरूङले आज एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘कार्तिक २७ र २८ गतेका लागि पूर्वनिर्धारित केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवश मंसिर २४ र २५ गते काठमाण्डौंमा बस्ने गरी तोकिएको छ।’
गत माघदेखि राप्रपाको केन्द्रीय समिति बैठक बसेको छैन। महामन्त्री धवल शम्शेर राणाले तत्काल महाधिवेशन मिति घोषणा गर्न माग गरिरहेका छन्।