नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेशमा 'अ-राजनीति' भएको बताएका छन्।
मधेसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले रातारात एमालेका दल नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको घटनालाई महामन्त्री शर्माले दुःखद भनेका हुन्।
सोमबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट लेख्दै महामन्त्री शर्माले यसलाई निन्दनीय भनेका छन्।
'मधेस प्रदेशमा भएको `अ-राजनीति´ दु:खद छ l नागरिक पंक्तिमा संघीयताप्रती थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ,' महामन्त्री शर्माले भनेका छन्।
मधेसमा संविधानको धारा १६८ (२) अनुसार सरकार बन्ने सम्भावना जीवितै रहेको उनको भनाइ छ। यसलाई अदालतले सच्याउने अपेक्षा रहेको पनि उनले बताए।
'१६८(२) को सरकार बन्ने संभावना छँदै, मंचन भएको `प्रहसन´ लाई बहुमत दल र बहुमत प्रदेश सभा सदस्यको मागमा न्यायालयले सच्याउने अपेक्षा छ,' उनले भने।
मधेसमा लोसपाका जितेन्द्र सोनार (सोनल)ले शनिबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।
उनको राजीनामापछि रातारात एक होटलमा प्रदेश प्रमुख भण्डारीले एमालेका यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
सरकार गठन र होटलमा शपथ भएको विषयमा मधेसमा एमालेकै सांसदहरूले पनि विरोध जनाएका छन्।
एमालेका प्रमुख सचेतक हरिनारायण महतोले होटलहोटलमा मुख्यमन्त्री पद नियुक्त गरेको घटनाले पार्टी, संसदीय दलकै उपहास भएको टिप्पणी गरेका छन्।
‘बिहानै म यो के सुन्दैछु, हाम्रो दलका नेता होटलमा मुख्यमन्त्री नियुक्त भएछन्! बर्दिबास र सिन्धुलीको सिमानामा रहेको पानस होटलमा मुख्यमन्त्री नियुक्त गर्नुपर्ने अवस्था के थियो?,’ सेतोपाटीसँगको कुराकानीमा भने, ‘यसले त पार्टी, दलकै बेइज्जत भएको छ।’
उनले संविधानको धारा १६८ (३) अनुसार नै मुख्यमन्त्री नियुक्त गर्नुपर्ने अवस्था आएको हो भने पनि छलफल आवश्यक रहेको बताए।
‘कम्तिमा पार्टी, दलभित्र छलफल गर्नुपर्छ। तर हामीलाई थाहै दिइएको छैन,’ उनले भने, ‘यसबारे दल र पार्टीभित्र छलफल हुन्छ।’