जेनजी आन्दोलन पश्चात नेपाली कांग्रेसले आफ्नो आधिकारिक धारणा राख्न नसकेको गण्डकी प्रदेशका अधिकांश नेता तथा कार्यकर्ताले आक्रोश पोखेका छन्।
पार्टी केन्द्रीय कार्यसमितिको बैठक एक महिनादेखि जारी रहे पनि कुनै निष्कर्षमा पुग्न नसेकेको भन्दै उनीहरूले पार्टी नेतृत्वप्रति आक्रोश मात्र पोखेनन्, पुरानो नेतृत्वलाई बिदाई गर्न पनि जोडदार माग राखेका छन्।
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको भेलामा बोल्दै अधिकांश नेता तथा कार्यकर्ताले पार्टी नेतृत्व भ्रष्टाचारमा डुबेको र देशलाई निकास दिने निर्णय दिन नसकेको भन्दै आक्रोश पोखेका हुन्।
पार्टीमा जारी बहसमा नियमित महाधिवेशन सम्भव भए पनि नेताहरूले नचाहेका कारण पार्टी विशेष महाधिवेशनतर्फ उन्मुख भएको उनीहरूले बताएका छन्। नियमित नभए विशेष महाधिवेशनबाट भए पनि पार्टी नेतृत्व परिवर्तन गरेर चुनावमा जानुको विकल्प नभएको पनि उनीहरूको धारणा छ।
मुलुकको वर्तमान परिस्थिति, नेपाली कांग्रेसको जिम्मेवारी र १५ औं महाधिवेशनको सम्बन्धमा विशेष भेलामा उपस्थित सबै कार्यकर्तालाई बोल्न समय दिइएको थियो। भेलामा प्रदेश समिति, महासमिति सदस्य, महाधिवेसन प्रतिनिधि, जिल्ला समिति, स्थानीय तह समिति, जनप्रतिनिधि लगायत उपस्थित थिए।
भेलामा बोल्दै नवलपुरकी महासमिति सदस्य विष्णुकुमारी कँडेलले आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न नसक्ने नेताहरूले देश र पार्टीलाई अनिर्णयको बन्दी बनाएको बताइन्। पार्टी र नेतृत्वलाई भ्रष्टाचारीको पार्टी भन्ने आरोपबाट मुक्त गर्न महाधिवेशनमार्फत नयाँ नेतृत्व छान्नुपर्ने उनले बताइन्।
‘हामी आफैं खुशी छैनौं आफ्नै पार्टी देखि,’ उनले भनिन्, ‘हामीलाई भ्रष्टाचारीको पार्टी भनेर आरोप लागेको छ। चुनाव फेस गर्न नसक्ने नेताहरूले महाधिवेशन रोकेका छन्।’
गाउँ-गाउँमा नयाँ पार्टी खरानी धसेर हिँडेको भन्दै उनले लोकतन्त्र जोगाउने र मुलुकको समस्या समाधान गर्ने पार्टी कांग्रेस हो भनेर विश्वास फर्काउनुपर्ने अवस्था आएको बताइन्। यसका लागि यथाशीघ्र महाधिवेशन हुनुपर्ने पनि उनको धारणा छ।
‘नियमित महाधिवेशन हुँदैन भने अब विशेष महाधिवेशनबाट भए पनि नेतृत्व परिवर्तन आवश्यक छ,’ उनले भनिन्, ‘नेतृत्व परिवर्तन नगरी हामी चुनावमा जान सक्दैनौं।’
नेपाली कांग्रेस तनहुँका क्षेत्रीय सभापति चुडामणि खनालले कांग्रेसका नेताले गरेको भ्रष्टाचारको छानबिन गरी कारबाही गर्ने बाचा गर्नुपर्ने बताए।
‘राज्यले भ्रष्टाचार लगायत सबै बेतिथिको छानबिन गर्छ, मेरो बुबा भए पनि छाडिदैन भनेर जनतामा जानुपर्छ,’ उनले भने, ‘हामीले कसैलाई जोगाउन आवश्यक छैन।’
जेनजी आन्दोलन पश्चात राष्ट्रपति रामचन्द्र पौडेलले देश र संविधान जोगाउन ऐतिहासिक भूमिका खेलेको उनले बताए।
‘सम्माननीय राष्ट्रपति ज्यूले आफ्नै ज्यान हत्केलामा राखेर देश, लोकतन्त्र र संविधान जोगाउनुभएको छ, उहाँको यो योगदानप्रति इतिहासले गौरव गर्नेछ,’ उनले भने, ‘प्रधानमन्त्री भागेको अवस्थामा उहाँले जुक्ती निकालेर देश र लोकतन्त्र जोगाउनुभएको छ। यस्तो अवस्थामा संसद पुनर्स्थापनातर्फ जानुहुँदैन।’
एमालेसँग मिलेर सरकारमा जाँदा गरेको ७ बुँदे सहमति अनुसार संविधान संशोधन, सुशासन लगायतका एजेण्डामा काम गर्न नसकेको भन्दै उनले आलोचना गरे।
कांग्रेस कास्कीका युवा नेता आशिष गुरुङले महाधिवेशनबाट पनि फेरि उनै पुराना नेता आउने अवस्थाको अन्त्य गर्न माग राखे। पार्टी नेतृत्व र राज्य संचालनमा कम्तिमा ५० प्रतिशत युवाको सहभागिता सुनिश्चित गर्न पनि उनले माग राखे।
‘महाधिवेशनबाट फेरि तिनै पुराना नेता आउने होला त्यो हामी स्वीकार गर्न सक्दैनौं, ‘ महाधिवेशन प्रतिनिधि गुरुङले भने, ‘पार्टीले टिकट बाँड्दा र पार्टीका हरेक संरचनामा कम्तिमा ५० प्रतिशत युवालाई सहभागिता गर्नुस्, बाँकी तपाईहरू बस्नुस्।’
कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरे उक्त महाधिवेसनमा जानुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर बुझाइसकेका छन्। पार्टी केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशनमा जाने कि विशेष महाधिवेशनमा जाने र चुनाव अघि महाधिवेशन गर्ने कि पछाडि गर्ने, चुनावमा भाग लिने कि संसद पुनर्स्थापनामा जाने भनेर केन्द्रीय समितिले निर्णय गर्न सकेको छैन।
प्रदेश भेलामा बोल्ने सबैजसो महाधिवेशन प्रतिनिधि लगायतले भने चुनाव अघि नै सके नियमित नभए विशेष महाधिवेसनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने र निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन्।
कास्की– ३ प्रदेश सभा 'ख' स्तरीय समितिका सचिव ठाकुर बरालले २०१५ सालमा पनि विशेष महाधिवेशनबाट विपी कोइराला पार्टी सभापति भएको स्मरण गराए। त्यतिबेला विपी कोइरालाले आफ्नै दाजु मातृकाप्रसाद कोइरालालाई कारबाही गरेर पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको दृष्टान्त दिए। अहिलेको अवस्थामा पनि त्यसरी नै विशेष महाधिवेशनबाट नेतृत्व परितर्वन र पार्टीको नीति र सांगाठानिक पुनर्संरचना आवश्यक परेको बताए।
‘लोकतन्त्र विरोधी गतिविधि गरेपछि २०१५ सालमा तत्कालीन पार्टी सभापति मातृकाप्रसाद कोइरालालाई पार्टीले साधारण सदस्यबाट निष्कासन गरेको थियो। त्यतिबेला विशेष महाधिवेशन गरेर विपी कोइराला सभापति हुनुभयो। त्यसलगत्तै भएको निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्याएको थियो,’ उनले भने, ‘अहिले पनि कांग्रेसले त्यस्तै निर्णय गर्नुपर्छ।’
कांग्रेस नवलपुरका महासमिति सदस्य चेतन पौडेलले नेपालमा लोकतन्त्तको जन्मदाता कांग्रेस रहेको भन्दै अहिले नेताहरूको स्वार्थले लोकतन्त्र अप्ठ्यारोमा अनिर्णयको बन्दी बनाएको बताए। पार्टीको इतिहास देखाएर सँधै चुनाव जित्न नसकिने र देशलाई लयमा फर्काउन नसकिने भन्दै उनले पार्टीको नीति र नेतृत्व परिवर्तन आवश्यक परेको बताए।
‘नेपाली कांग्रेस नेपालमा लोकतन्त्रको जन्मदाता हो। देशको मेरूदण्ड हो। इतिहासको भरमा अहिले चुनाव जित्न सकिँदैन,’ उनले भने, ‘नेतृत्वमा नयाँ सोच, शैली र लोकतान्त्रिक परिपाटी ल्याउन जरुरी छ।’
भेलालाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जनतासँग माफी मागेर जानुपर्ने धारणा राखे। एमालेसँग मिलेर सरकार बनाउने, माओवादीसँग मिलेर चुनावमा जाने, निरन्तर सरकारमा रहँदा पनि केही काम गर्न नसकेको भन्दै माफी माग्नुपर्ने उनको धारणा छ।
‘माओवादीलाई भोट हाल्यौं, देशलाई कोही दिन सकेनौं। एमालेसँग मिलेर सरकार बनायौं, केही गर्न सकेनौं, केही साथीहरूले पद त पाउनुभयो होला तर देशले केही पाएन,’ उनले भने, ‘अब केही पनि काम गर्न सकेनौं भनेर जनतासँग माफी माग्नुपर्छ।’
पार्टी नेतृत्वसमक्ष विगत ४ वर्षदेखि आफूहरूले राखेको भ्रष्टचार नियन्त्रणका कुरा सुनुवाई नहुँदा त्यही मुद्दामा जेनजी आन्दोलन भएको उनले बताए। पार्टी सभापति शेरबहादुर देउवाले कार्यवहाक सभापति तोक्ने बेला अब आफू नफर्कने र विगतका गल्तीप्रति माफी माग्नुपर्नेमा त्यसो नगरेको उनले बताए।
‘पार्टी सभापतिले कार्यवहाक दिनेबेला जनतासँग माफी माग्नुपर्थ्यो, उहाँले त्यसो गर्नुभएन,’ उनले भने, ‘हामीले विचार, सिद्धान्त सबै छाड्यौं अनि जनताले हामीलाई छाडे। यो कुरा सबैले बुझ्न जरूरी छ।’