इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग शान्ति वार्ता अघि बढाउन आफ्नो सरकारले सर्वोच्च नेताबाट थप अधिकार पाएको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको वार्तामा प्रगति भइरहेको संकेत गरेपछि अमेरिका र इरानबीच पुनः सैन्य द्वन्द्व चर्किने आशंकाका बीच कूटनीतिक समाधानको सम्भावना बढेको देखिएको छ।
इरानको सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्युज एजेन्सी (आइआरएनए) का अनुसार पेजेस्कियानले सोमबार भनेका छन्, ‘हामी संवादमार्फत समस्या समाधान गर्ने प्रयासमा छौं। यस सन्दर्भमा सर्वोच्च नेताले पनि सरकारलाई केही अधिकार प्रदान गर्नुभएको छ।’
इरानका सर्वोच्च नेता मोज्तबा खमेनीले सरकारलाई कस्तो अधिकार दिएका हुन् भन्नेबारे पेजेस्कियानले स्पष्ट पारेका छैनन्। यसले अमेरिकासँगको अप्रत्यक्ष वार्तामा इरानले आफ्नो अडान वा सर्तमा कुनै परिवर्तन गर्न लागेको हो कि होइन भन्ने पनि खुलेको छैन।
तर उनको अभिव्यक्तिलाई लगानीकर्ताले अमेरिका र इरानबीच तत्काल अर्को चरणको युद्ध टर्न सक्ने संकेतका रूपमा लिएको भनेर ब्लुमबर्गले लेखेको छ।
यसको प्रभाव अन्तर्राष्ट्रिय बजारमा समेत देखिएको छ। विश्व बजारमा कच्चा तेलको मूल्य करिब तीन महिनायताकै सबैभन्दा ठूलो गिरावटसहित प्रतिब्यारेल १०५ डलर आसपास पुगेको छ।
ट्रम्पले पनि वार्तामा प्रगति भएको संकेत गरे
इरानी राष्ट्रपतिको अभिव्यक्तिपछि अमेरिकी राष्ट्रपति ट्रम्पले पनि अमेरिका वार्ताका लागि तयार रहेको र सम्झौताको सम्भावना रहेको बताएका छन्।
सोमबार वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘उनीहरू सम्झौता गर्न चाहन्छन् र त्यो सम्भव पनि हुन सक्छ।’
तेलको मूल्य घट्नुको कारणबारे सोधिएको प्रश्नमा उनले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको संकेत गर्दै भने, ‘यो निकै राम्रोसँग अघि बढिरहेको देखिन्छ। मानिसहरूले पनि यसबारे थाहा पाए।’
तर वार्ता कहाँ पुग्यो र कुन विषयमा सहमति नजिकिएको हो भन्नेबारे उनले कुनै विवरण वा प्रमाण प्रस्तुत गरेनन्।
पत्रकारले मंगलबार हुने अमेरिकी संसदीय निर्वाचनपछि इरानमाथि पुनः सैन्य आक्रमण गर्ने हो कि होइन भनेर प्रश्न गर्दा ट्रम्पले ‘होइन’ भन्ने संकेत गरेका थिए।
ट्रम्पले यसअघि पनि इरानसँगको द्वन्द्व कुनै न कुनै रूपमा समाधान गर्ने बताउँदै आएका छन्। तर उनले पटकपटक सैन्य कारबाही पुनः सुरु गर्ने चेतावनी दिँदै कूटनीतिक प्रगतिबारे पनि दाबी गर्दै आएका छन्।
उनका यस्ता अभिव्यक्तिले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा उतारचढाव ल्याउने गरेको छ। विशेषगरी इन्धनको बढ्दो मूल्य निर्वाचनअघि रिपब्लिकन पार्टीका लागि राजनीतिक चुनौती बनेको छ।
ट्रम्पले सोमबार सामाजिक सञ्जालमा पनि इरानसँग युद्ध नहुने सम्भावना देखिएकाले तेलको मूल्य प्रतिब्यारेल करिब १० डलरले घटेको दाबी गरेका थिए।
उनले लेखेका थिए, ‘तेलको मूल्य तीव्र गतिमा घटिरहेको छ। मानिसहरूलाई इरानसँग युद्ध नहुने महसुस भएकाले यस्तो भएको हो।’
भान्सले पनि वार्ताप्रति आशावादी रहेको बताए
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि इरानसँग भएका पछिल्ला संवाद सकारात्मक रहेको बताएका छन्।
ट्रम्पको अभिव्यक्तिपछि पत्रकारहरूसँग कुरा गर्दै उनले इरानी पक्षसँग पटकपटक राम्रो संवाद भएको बताए।
‘हामीले इरानीहरूसँग धेरैपटक राम्रा कुराकानी गरेका छौं,’ उनले भने, ‘राष्ट्रपति र म दुवै वार्तामार्फत सम्झौतामा पुग्ने सम्भावनाप्रति सकारात्मक छौं।’
यद्यपि इरानको व्यवहार अप्रत्याशित हुन सक्ने उनको भनाइ थियो।
‘इरानीहरू सधैं केही अप्रत्याशित हुन्छन्। तर हामीले निश्चित रूपमा केही प्रगति गरेका छौं। अब थप प्रगति गर्न सकिन्छ कि हेरौं,’ भान्सले भने।
अमेरिका र इरानबीच पुनः युद्ध भड्किन नदिन क्षेत्रीय देशहरूले कूटनीतिक प्रयास तीव्र पारेका छन्।
गत साता साउदी अरब, टर्की र पाकिस्तानका उच्च अधिकारीहरू तेहरान पुगेका थिए। त्यस्तै, कतारका मध्यस्थकर्ताहरूले पनि सप्ताहन्तमा तेहरान र दोहामा इरानी अधिकारीहरूसँग वार्ता गरेका थिए।
इरानका विदेशमन्त्री अब्बास अराग्चीले वर्तमान परिस्थितिमा कूटनीतिक छलफल र परामर्श निकै तीव्र बनेको बताएका छन्।
तुर्कमेनिस्तान भ्रमणका क्रममा आइआरएनएसँग कुरा गर्दै उनले इरानले आफ्ना सर्त र प्रस्ताव प्रस्तुत गरिसकेको बताए।
‘हामीले आफ्ना सर्त र योजना प्रस्तुत गरेका छौं। अब सबै कुरा वासिङ्टनको राजनीतिक विवेकमा निर्भर गर्छ,’ उनले भने।
अमेरिकाले छलकपट वा सैन्य कारबाहीको बाटो रोजे त्यसको जवाफ पहिलेभन्दा कडा हुने चेतावनी पनि उनले दिएका छन्।
वार्ताका मुख्य सर्तमा अझै मतभेद
दुवै पक्ष वार्ताप्रति सकारात्मक देखिए पनि उनीहरूबीचका आधारभूत मतभेद भने कायमै छन्।
इरानले आफूमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, आर्थिक प्रतिबन्ध खुकुलो पार्नुपर्ने र विदेशमा रोक्का गरिएका सम्पत्ति फुकुवा गर्नुपर्ने सर्त राखेको छ।
त्यसपछि मात्र रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुज पुनः खुला गर्ने उसको अडान छ।
अमेरिकाले भने इरानको आणविक कार्यक्रमसँग सम्बन्धित विषयमा महत्त्वपूर्ण सहुलियत खोजिरहेको छ।
दुवै पक्षका सर्त बीचको दूरी ठूलो भएकाले सामान्य सहमतिबाट मात्र दीर्घकालीन शान्ति सम्भव नहुने विश्लेषकहरूको भनाइ छ।
इन्टरनेसनल क्राइसिस ग्रुपका वरिष्ठ विश्लेषक तथा इरान परियोजनाका निर्देशक अली वाएजले सर्वोच्च नेताले सरकारलाई सीमित अधिकारसहित वार्ताको जिम्मेवारी दिएको बताएका छन्।
‘यहाँ कुनै नयाँ कुरा छैन। सर्वोच्च नेताले स्पष्ट सीमासहित सरकारलाई सीमित वार्ता अधिकार दिएका छन्,’ उनले भने।
उनका अनुसार इरान युद्ध अन्त्यका लागि वार्ता गर्न तयार भए पनि अर्को युद्ध सुरु हुनुअघिको अस्थायी विश्राम मात्र चाहँदैन।
‘इरान यस्तो दीर्घकालीन शान्ति चाहन्छ, जसले उसको प्रतिरोध क्षमता र रणनीतिक विश्वसनीयता पुनः स्थापित गरोस्,’ वाएजले भने।
युद्धको तयारी पनि रोकिएको छैन
कूटनीतिक प्रयास तीव्र भइरहेका बेला इरानले सम्भावित सैन्य भिडन्तको तयारी पनि जारी राखेको छ।
सर्वोच्च नेता खमेनीले आफ्ना उच्च सैन्य कमान्डरहरूलाई अमेरिका र इसराइलसँग पुनः भिडन्त हुन सक्ने अवस्थाका लागि तयार रहन तथा जवाफी कारबाहीका विकल्प विस्तार गर्न निर्देशन दिएको बताइएको छ।
यसले खाडी क्षेत्रका अरब मुलुकहरूमा थप चिन्ता बढाएको छ। उनीहरूका अनुसार यसपटक इरान पहिलेभन्दा बढी तयारीका साथ युद्धमा उत्रिएमा क्षेत्रीय द्वन्द्व अझ विनाशकारी हुन सक्छ।
अमेरिकी समाचार संस्था एक्सियसका अनुसार ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको कुराकानीमा पनि द्वन्द्व समाधानका लागि कूटनीतिक प्रयासलाई थप समय दिन आफू तयार रहेको बताएका थिए।
यसरी एकातिर अमेरिका र इरानबीच वार्ताको सम्भावना देखिएको छ भने अर्कोतिर दुवै पक्ष सैन्य तयारीबाट पछि हटेका छैनन्। त्यसैले अहिले देखिएको कूटनीतिक प्रगतिले स्थायी शान्तिको रूप लिन्छ वा अर्को सैन्य भिडन्तअघिको अस्थायी विराममा सीमित हुन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)