अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनपछि डेमोक्र्याटिक पार्टीले अर्बपति व्यवसायी इलन मस्कमाथि अनुसन्धान अघि बढाए उनलाई संरक्षण गर्ने बताएका छन्।
ट्रम्पले मस्क मात्र नभई आफ्ना निकट सहयोगी, कर्मचारी तथा अन्य समर्थक विरूद्ध अनुसन्धान भए उनीहरूलाई समेत राष्ट्रपतीय क्षमादान दिन सक्ने संकेत गरेका छन्।
सोमबार सार्वजनिक भएको ‘पोड फोर्स वान’ पोडकास्टसँगको अन्तर्वार्तामा ट्रम्पले यस्तो बताएका हुन्। अन्तर्वार्ताका क्रममा कार्यक्रम सञ्चालक मिरान्डा डिभाइनले डेमोक्र्याटिक पार्टीले मस्कमाथि अनुसन्धान गर्ने वा उनका सम्पत्ति जफत गर्ने चर्चा भइरहेको विषय उठाएकी थिइन्।
जवाफमा ट्रम्पले भने, ‘त्यो चर्चा मात्रै हो। तर यदि त्यस्तो भयो भने हामीले उनीहरूलाई संरक्षण गर्नुपर्ने हुन्छ।’
टेस्ला र स्पेस एक्सका प्रमुख मस्कले यस निर्वाचन चक्रमा डेमोक्र्याटिक पार्टीका उम्मेदवारहरूको विरोधमा करिब ५० करोड अमेरिकी डलर खर्च गरेका छन्।
उनले सन् २०२८ मा डेमोक्र्याटिक पार्टीले राष्ट्रपति पद र अमेरिकी संसद् दुवै जितेमा त्यसले लोकतन्त्रको अन्त्य हुने अभिव्यक्तिसमेत दिएका थिए।
सहयोगीलाई अग्रिम क्षमादान दिन पनि तयार
ट्रम्पले मस्क बाहेक आफ्नो सरकारका कर्मचारी र अन्य सहयोगी विरूद्ध डेमोक्र्याटिक पार्टीले अनुसन्धान अघि बढाए उनीहरूलाई पनि अग्रिम क्षमादान दिन सक्ने बताएका छन्।
‘आवश्यक पर्यो भने दिन्छु। अवश्य,’ उनले भने।
यस विषयमा थप स्पष्ट पार्दै उनले भने, ‘मैले यसबारे सोच्ने पनि छैन। म क्षमादान दिन्छु।’
डेमोक्र्याटिक पार्टीले संसदीय निर्वाचनमा संसद्का दुवै सदन वा कुनै एक सदनमा बहुमत हासिल गरे ट्रम्प सरकारका अधिकारी र निकट सहयोगीमाथि विभिन्न विषयमा अनुसन्धान अघि बढाउन सक्ने चर्चा छ।
त्यसैलाई लक्षित गर्दै ट्रम्पले आफ्ना निकटस्थहरूलाई अनुसन्धानबाट जोगाउन राष्ट्रपतीय क्षमादानको अधिकार प्रयोग गर्न सक्ने संकेत गरेका हुन्।
ट्रम्पले यसअघि पनि आफ्ना समर्थकहरूलाई क्षमादान दिएका थिए। सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवनमा भएको हिंसात्मक घटनामा संलग्न करिब १ हजार ५०० जनामाथि लागेका अभियोग उनले दोस्रो कार्यकाल सुरू गरेलगत्तै फिर्ता लिने गरी क्षमादान दिएका थिए।
तेस्रो कार्यकालको इच्छा पनि व्यक्त
अन्तर्वार्ताका क्रममा ट्रम्पले अमेरिकी राष्ट्रपतिको तेस्रो कार्यकाल चलाउने इच्छा पनि व्यक्त गरेका छन्।
अमेरिकी संविधानले राष्ट्रपतिलाई दुई कार्यकालभन्दा बढी निर्वाचित हुन नदिने व्यवस्था गरेको छ। यसबारे सोधिएको प्रश्नमा ट्रम्पले तेस्रो कार्यकाल चलाउन आफूलाई मन भए पनि संवैधानिक व्यवस्थाको भाषा निकै स्पष्ट रहेको बताए।
‘म तेस्रो कार्यकाल चलाउन चाहन्थें। तर संविधानको भाषा निकै स्पष्ट छ,’ उनले भने।
तेस्रो कार्यकालको सम्भावनालाई तत्कालका लागि बन्द गरेजस्तो देखिए पनि उनले आफ्नो कार्यसूची कार्यान्वयन गर्न अझै पर्याप्त समय बाँकी रहेको बताए।
‘हामीसँग अझै दुई वर्षभन्दा बढी समय छ। त्यो लामो समय हो। त्यति अवधिमा धेरै काम गर्न सकिन्छ,’ उनले भने।
ट्रम्पको पछिल्लो अभिव्यक्तिले मध्यावधि निर्वाचनपछि डेमोक्र्याटिक पार्टीले संसद्मा बहुमत हासिल गरे आफ्नो सरकार र निकट सहयोगीहरूको बचाउमा उनी थप आक्रामक रूपमा प्रस्तुत हुन सक्ने संकेत गरेको छ।
पछिल्ला जनमत सर्वेक्षणहरूले डेमोक्र्याटिक पार्टीको पक्षमा उल्लेख्य जनसमर्थन देखाइरहेका बेला ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)