नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा विषयमा अध्ययन गर्न समिति गठन गरेको छ।
सोमबार बारको कार्यसमिति, सल्लाहकार सिमितिको संयुक्त बैठकले पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको महासचिव एवं वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले जानकारी दिए।
गठित समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्षहरु उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो, पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले छन्। त्यस्तै, सदस्य सचिवको रूपमा बारका केन्द्रीय सदस्य बाबुराम अर्याल छन्।
समितिले हालको न्यायालयका विषयमा उठेका टिप्पणीका तथ्य संकलन र समग्र न्याय क्षेत्रको उन्नयनका लागि आवश्यक सुझाव एक महिनाभित्र तयारी गर्ने समयसीमा रहेको बारका महासचिव कोइरालाले जानकारी दिए।
बारको कार्यसमिति, सल्लाहकार समितिसमेतको संयुक्त बैठकमा न्यायपालिकासम्बन्धी समसामयिक अध्ययन गर्न उक्त समिति बनाइएको जनाइएको छ।
पछिल्लो समय सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका इनम सापकोटाले न्यायाधीशहरू भेटेको भन्ने विषयमा प्रश्न उठिरहेका छन्।
मुद्दा मामिलाका विषयमा न्यायाधीश हरिप्रसाद फुयालसँग कुराकानी गरेको च्याट समेत बाहिरिएको छ। त्यसपछि होटल हिमालयमा न्यायाधीश फुयालसहित अन्यले पनि भेटेको बाहिरिएको हो। न्यायाधीश फुयालले भेट र कुराकानीलाई स्वीकार गरेका छन्।
तर इनम सापकोटाबारे न्यायाधीश फुयालसहित अन्य केहीले नै सरकारलाई जानकारी गराएपछि उनी पक्राउ परेको दाबी छ।
सोमबार बसेको सर्वोच्चको फूलकोर्ट बैठकले पनि सम्बद्ध निकायलाई छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेको छ।