नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले पश्चिमाले चीन र भारतलाई टुक्राउने योजनाअन्तर्गत नेपालमा खेलेको दाबी गरेका छन्।
एमाले चितवनले गरेको जनसभामा बोल्दै उनले नेपालको जलस्रोत, युरेनियमलगायतका खनिजमा कब्जा जमाउने, चीन र भारतको बजारमा विस्तार गर्ने पश्चिमा शक्तिको चाहना रहेको बताए।
‘उनीहरू चीनबाट तिब्बतलाई छुट्टाउन चाहन्छन्। मंगोलियालाई अलग गर्न चाहन्छन्। भारतमा ३० राज्यलाई अलग गर्न चाहन्छन्। नेपालको सरकार गिराउनुको कारण पनि यसैसँग सम्बन्धित छ,’ उनले भने, ‘नेपालमा अब सिक्किमको जस्तो संसद बनाएर आफ्नो लक्ष्य पुरा गर्न खोज्दैछन्।’
थापाले फागुन २१ गतेको चुनाव राजनीतिक दलका लागि हनी ट्र्याप भएको दाबी गरे। स्थापित राजनीतिक दलहरूलाई सिध्याएर देशमा आफ्ना दलाललाई स्थापित गर्ने रणनीति अनुसार पश्चिमा साम्राज्यवादीले हनी ट्र्याप थापेको थापाले बताए।
‘त्यसैले स्थापित दलहरूले आत्मसमर्पण गरे भने फागुनमा चुनाव हुनसक्छ। शैन्य अड्डा बनाउन दिने भनेर, पश्चिमा शक्तिको हितमा काम गर्छौं भनेर आत्मसमर्पण गरे भने चुनावमा उनीहरूलाई पनि जिताइदिन्छन्। नत्र संभावना छैन,’ उनले भने, ‘सुशीला कार्कीलाई दलहरूलाई सिध्याउने जिम्मेवारी दिइएको छ। उनले सकिनन् भने अर्को व्यक्तिलाई जिम्मेवारी दिन्छन्।’
उनले पूर्व सहकर्मीहरूले चुनाव आयो भनेर दश कोठे टहरा तयार पारेको टिप्पणी पनि गरेका छन्।
उनले माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका दलहरूको एकीकरणलाई दश कोठे टहराको संज्ञा दिए।
‘यो टहरा किन बनाए भने चाहि उनीहरू अलग-अलग कोठामा बसिराखेका थिए। त्यसबाट उनीहरूको अस्थित्व थामिने भएन। दश कोठे टहरा बनाउँदा अस्थित्व बच्छ कि भन्ने उहाँहरूको हिसाब किताब छ,’ थापाले भने, ‘उनीहरूको लक्ष्य भनेकै आउने चुनावमा केही सिट पाइन्छ कि भन्ने छ। तर त्यसरी उहाँहरूको अस्थित्व रक्षा हुँदैन। मूल घरमा फर्किएर मात्रै लक्ष्य पूरा हुन्छ। संसद पूनर्स्थापना गरेरमात्रै संबिधानको रक्षा हुन्छ।’
नेकपा एमालेका पोलिटब्यूरो सदस्य देवि ज्ञवालीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रूस र चीनका राष्ट्रपतिसँग हात मिलाएपछि षड्यन्त्र सुरू भएको दाबी गरे। उनले लिपुलेक र लिम्पियाधुराको कुरा उठाएपछि नेपालविरूद्ध षड्यन्त्र सुरू भएको जिकिर गरे।
सभामा नेकपा एमाले बागमती प्रदेश सभा संसदीय दलका नेता जेएन थपलियाले भदौ २३ र २४ को घटनामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिम्मेवारी लिनुपर्ने बताए। उनले दाहालले युवाहरूलाई उत्तेजित बनाउन भूमिका खेलेको थपलियाले बताए।
नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठकले जेन-जीको नाममा अराजकता मच्चाउनेहरूलाई कडा कारबाही गर्न सरकारसँग माग गरे।
सभामा जेन-जी युवा युवराज उपाध्यायले भदौ २३ को आन्दोलन भ्रष्टाचार अन्त्य र सुशासन कायम राख्नका लागि भएकोले संबिधानलाई टेकेर संसदमार्फत जेन-जीका मागहरूलाई संबोधन गर्नुपर्ने बताए।