मधेस प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले बोलाएको सर्वदलीय बैठक विपक्षी दलहरूले बहिस्कार गरेका छन्।
प्रदेश सभामा दलहरूबीच जारी विवाद समाधानका लागि प्रदेश प्रमुख लाभले शनिबार सर्वदलीय बैठक बोलाएका थिए।
तर आन्दोलनरत सात दलले बहिस्कार गरेका हुन्।
जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव पनि सहभागी हुने भएकाले बैठक बहिस्कार गरेको जानकारी दिए।
'असंवैधानिक रूपमा नियुक्त भई होटेलमा शपथ खाएका वर्तमान मुख्यमन्त्री सो बैठकमा सहभागी भएकाले सात दलीय गठबन्धनले बहिष्कार गरेका हौं,' उनले भने।
२२ कात्तिकमा तत्कालीन मुख्यमन्त्री लोकतान्त्रिक समाजवादीका जितेन्द्र सोनलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि ठूलो दलको हैसियतले एमालेका सरोजकुमार यादवलाई तत्कालीन प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
मुख्यमन्त्री नियुक्त गरेपछि एउटा होटलमा सपथ ग्रहण गराएकी थिइन्।
सरकारले भण्डारीलाई बर्खास्त गरी लाभलाई प्रदेश प्रमुख बनाएको थियो।
पछिल्लो समय सभामुखविरूद्ध ७ पार्टीका ६४ सांसदहरूले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव पेस गरेका थिए।
सांसदहरूले त्यस्तो प्रस्ताव पेस गरेपछि सभामुख रामचन्द्र मण्डलले ५ सांसदहरूलाई पदमुक्त गरे।
नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह र जसपाका मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार र शारदाशंकर प्रसाद कलवारलाई सभामुख मण्डलले पदमुक्त गरे। तर त्यसको केही बेरमै उपसभामुख बबिताकुमारी राउत ईशरले सभामुखको उक्त निर्णय बदर गरिदिइन्।
यी सवै विवादको समाधान निकाल्नका लागि प्रदेश प्रमुख लाभले शनिबार बैठक बोलाएका थिए।