मधेस प्रदेश सरकारमा मन्त्री भएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद कञ्चन विच्छाले सरकारमा जानुअघि अध्यक्ष राजेन्द्र लिङ्देनसँग परामर्श गरेको बताएकी छन्।
मधेसमा राप्रपाकी एक मात्र सांसद रहेकी उनी नेकपा एमाले नेतृत्वको सरकारमा मन्त्री बनेकी छन्।
मुख्यमन्त्री सरोजकुमार यादवले विच्छालाई मन्त्री बनाएका छन्। तर होटलमा गएर मुख्यमन्त्रीको शपथ लिएपछि यादव विवादमा तानिएका छन्।
राप्रपाबाट मन्त्री बनेकी विच्छाले नयाँ सरकार बन्ने अवस्थामा आफूले अध्यक्ष लिङ्देनसँग परामर्श गरेको बताएकी छन्।
‘सरकारमा सहभागी हुनुभन्दा अघि अध्यक्षसँग रायपरामर्श गरेकै हो,’ शनिबार पत्रकारहरूले सोधेको प्रश्नमा जबाफ दिँदै उनले भनेकी छन्,‘उहाँले परिस्थितिअनुसार हिँड्नुपर्छ भन्नुभयो। परिस्थितिअनुसार समर्थन दिनेजस्तो कुरा पनि गर्नुभयो।’
त्यसपछि आफू सरकारमा गएको उनको भनाइ छ।
‘सरकारमा चाहिँ पछि कुरा गर्छु भन्ने कुरा गर्नुभयो। जतिखेर म सरकारमा सहभागी भएँ त्यतिखेर मधेसी जनताका लागि, पार्टी संगठन बलियो बनाउन लागि म सरकारमा सहभागी भएँ,’ उनले भनिन्, ‘उहाँसँग रायपरामर्श हुँदै थियो। अवस्था त्यस्तो आयो कि म त्यतिखेरै मन्त्रिपरिषदमा सहभागी हुनुपर्यो।’
विच्छा मन्त्री नियुक्त भएको केही समयपछि अध्यक्ष लिङ्देनले सरकारबाट फिर्ता आउन भनेका थिए। तर विच्छा अहिलेसम्म पनि सरकारबाट फिर्ता आएकी छैनन्।
यसबीचमा राप्रपा अनुशासन समितिले विच्छामाथि स्पष्टीकरण सोधेर समानुपातिक सांसद र पार्टी सदस्यतासमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ।