मधेस केन्द्रीत र पहिचानवादी दलहरू आउँदो निर्वाचनमा संयुक्त मोर्चा वा एउटै पार्टी बनाएर अघि बढ्ने विषयमा छलफलमा जुटेका छन्।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले पहिचानवादी दलहरूको एउटै दल बनाएर अघि बढ्न सबैजसो दलहरूसँग संवाद अघि बढाएको छ।
जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता राजकिशोर यादवका अनुसार अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पार्टी कार्यालय नै पुगेर एक घण्टा कुराकानी गरेका छन्।
त्यस्तै आफैबाट फुटेर गएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग पनि छलफल भएको राईले बताए।
‘अशोक राईहरूसँग एक चरण छलफल भयो’, वरिष्ठ नेता यादवले भने, ‘त्यसपछि उहाँहरूले राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता टोली बनाउनुभयो। उहाँहरूसँग पनि एकचरण छलफल भयो। उहाँहरूले पार्टीको बैठकबाट निर्णय गर्छौं भन्नुभएको छ। तर ठोस विषयमा छलफल भएको छैन।’
जसपा नेपालले एकता, सहकार्य र मोर्चा बनाउने विषयमा राजकिशोर यादवको नेतृत्वमा वार्ता समिति नै बनाएको छ।
‘मैले सिके राउत, अनिल झा र रेमश चौधरीसँग छलफल गरेको छु। खासगरी पहिचानवादी दलहरूसँग संवाद भइरहको छ’, यादवले भने, ‘हाम्रो संघीय मोर्चामा भएका दलहरू एक ठाउँमा आउनुपर्यो भन्ने मुख्य धारणा हो।’
उनले कतिय दलहरूले भने सबै मोर्चामा भएका दलहरू एक भएर निर्वाचनमा जानुपर्ने धारणा राखेको यादवले बताए।
‘पहिचानको मुद्दा र संघियता पक्षधरहरू एक ठाउँमा जानुपर्छ भन्ने सबैको धारणा छ’, यादवले भने, ‘हामी थप छलफल गर्छौं।’
अशोक राईको पार्टीले भने मधेस केन्द्रीय दलहरू बाहेक अन्य दलहरूसँग पनि संवाद गरिरहेको छ। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसँग उक्त पार्टीले वार्ता गरिरहेको छ। उपेन्द्र यादव नेतृत्वको पार्टीबाट फुटेर अशोक राई सहित ७ सांसद र २९ केन्द्रीय सदस्यले दल विभाजन गरेर जनता समाजवादी पार्टी गठन गरेका थिए।
उक्त दलको विभाजन सम्बन्धी मुद्दा अझै सर्वोच्च अदालतमा विचाराधीन छ। पार्टी विभाजनले पूर्णता नपाउँदै अशोक राईको पार्टीलाई थप विभाजनका गतिविधि नगर्न सर्वोच्चले रोक लगाइएको थियो। जसका कारण प्रदेश र स्थानीय तहमा भएका नेता/कार्यकर्ताले नयाँ बनेको पार्टी रोज्न पाएनन्। त्यसैले राईको पार्टीले आकार लिन सकेन।
त्यसैले राई नेतृत्वको पार्टीले अहिले एकता र सहकार्यको बाटो रोजेको छ। केन्द्रीय कार्यकारिणी समिति बैठकबाटै विचार र मुद्दा मिल्ने राजनीतिक दलहरूसँग वार्ता र एकता गर्ने गरी छलफल अघि बढ्ने निर्णय गरेको महासचिव मोहम्मद इश्तियाक राईले जानकारी दिए।
‘विचार मिल्ने जो सुकैसँग एकता गर्ने कुरा केन्द्रीय समिति र पदाधिकारी बैठकले गरेको छ’, राईले भने, ‘अहिलेसम्म केही भएको छैन।’
तर उपेन्द्र यादवको नेतृत्व स्वीकार्न अशोक राई नेतृत्वको पार्टीका नेताहरू तयार छैनन्। उपेन्द्र यादवले सबैसँग विवाद गर्ने र एकल रूपमा पार्टी चलाउने खोज्ने राई नेतृत्वका पार्टीका नेताहरूको धारणा छ।
‘बाबुराम भट्टराई, महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा, अशोक राईदेखि विजय गच्छदारसम्म उहाँको सबैसँग झगडा परेको छ’, अशोक राईको पार्टीमा भएका एक नेताले भने, ‘उहाँको नेतृत्व मान्न अहिले तयार छैनौं। उपेन्द्रसँग विभिन्न समूहमा ११ पटक टुक्रिएको छ। ’
जसपा नेपालका नेता प्रकाश अधिकारीले विचार र मुद्दा मिल्नेहरूसँग एकता, सहकार्य र मोर्चा गर्ने विषयमा छलफल अघि बढेको बताए।
‘कुराकानी भएको छ’, अधिकारीले भने, ‘सबैसँगको छलफल प्रारम्भिक छ। पार्टीको मंसिर ३ र ४ गतेको केन्द्रीय कार्यकारिणीमा थप ब्रिफिङ होला।’
कतिपयले भने अशोक राईको नेतृत्वको पार्टी नेकपा एमालेसँग मिल्ने आकलन गरेका थिए। उक्त पार्टी विभाजन हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। विभाजित भएको पार्टी सरकारमा सहभागी भएको थियो भने उपेन्द्र यादवको पार्टी सरकारबाट बाहिरिएको थियो।
तर राई नेतृत्वका जसपाका नेताहरू भने एमालेसँग एकताबारे कुराकानी नभएको बताउँछन्।
‘एकता हुने भए पहिला नै भइहाल्थ्यो। रोकिएको थिएन’, राई नेतृत्वको जसपाका एक नेताले भने, ‘एमालेसँग मिल्ने भन्ने सबैको आकलन हो। तर भएको त छैन।’
मुद्दा र विचार मिल्नेसँग एकता सहकार्य र मोर्चा गर्ने विषयमा राजकिशोर यादवको अध्यक्षतामा बनेको छ।