गरिखान देउका संयोजक मिराज ढुंगानालाई जेनजी प्रतिनिधिहरूले नै प्रश्न गरेका छन्।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग अघि सारेका उनले आउँदो फागुन २१ गते हुने निर्वाचनमा आफू सहभागी नहुने बताउँदै आएका छन्। अन्य जेनजी समूहहरूले यही लोकतान्त्रिक व्यवस्था र संविधान अनुसार नै आगामी चुनावमा सहभागी हुनुपर्ने माग उठाउँदै गर्दा ढुंगानाको समूह भने फरक कित्तामा उभिएको छ।
उनको समूहमा को-को छन् भन्ने प्रष्ट छैन।
पछिल्लो दुई दिन यता उनी आफ्ना माग बुझाउने बताउँदै प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने भन्दै सिंहदरबार धाउँदै आएका छन्।
सोमबार उनले सिंहदरबार बाहिर आफ्ना पर्चाहरू टाँसेर फर्किएका थिए।
मंगलबार पनि उनी सिंहदरबार बाहिरसम्म पुगे। त्यहाँबाट प्रहरीले धकेलेर अनामनगरको धोबिखोला पुल पारी पुर्याएको थियो।
यसरी अहिले सडकमा आएका ढुंगानालाई जेनजी प्रतिनिधिहरूले नै प्रश्न गरेका छन्।
कोशी प्रदेशका जेनजी संयोजक उपार्जुन चाम्लिङले आफू राजनीतिक रूपमा मिराज ढुंगानाको समूहसँग मिल्न नसक्ने बताएका छन्। उनले मंगलबार राति फेसबुकमा लेख्दै उक्त कुरा बताएका हुन्।
यस्तै उनको समूहमाथि गरिएको धरपकडकै पनि विरोध गरेका छन्।
‘मिराजजीहरूसंग राजनीतिक रूपमा कत्ति पनि सहमत हुन सकिन्न। यद्यपि आज उहाँको समूहमाथि गरिएको धरपकडको पनि समर्थन गर्न सकिन्न। यो लोकतन्त्रको लागि खासै शोभा दिने विषय होइन। सडक सबैको हो। लोकतन्त्र मान्नेको पनि। नमान्नेको पनि,’ उनले लेखेका छन्।
सँगसँगै उनले भदौ २३ गते सडकमा नउत्रिएर अहिले किन, केका लागि र कसका लागि प्रदर्शन गरिरहेको भनेर प्रश्न गरेका छन्।
‘तर अचम्म लागेको विषय चाहिँ हिजो आउनु पर्ने बेला सडकमा न आउनु भएको ढुंगानाजी आज किन र कसका लागि आइरहनु भएको छ? कोहरूसँग आइरहनु भएको छ? अरूसँग जवाफदेहिता खोज्दै गर्दा आफूमाथिको प्रश्नबारे पनि ख्याल गर्नुपर्छ कि साथी हो? जबाफ छ कि प्रश्न मात्रै मित्र मिराजजी?,’ उनको प्रश्न छ।
मिराज ढुंगानालाई उनले जस्तै नेपाल जेनजी फ्रन्टको संगठन समिति सदस्य युजन राजभण्डारीले पनि प्रश्न गरेका छन्।
उनले फेसबुकमार्फत भदौ २२ जेनजी आन्दोलनबारे छलफल गरेको सन्दर्भमा लेखेका छन्। उनका अनुसार भीमसेनगोलामा आन्दोलन गर्ने विषयमा विभिन्न एजेण्डाबारे छलफल भएको थियो।
त्यहाँ युजन, आदित्य कर्ण, अमित खनाल, मिराज ढुंगाना लगायत सहभागी थिए।
उक्त छलफलमा युवाहरूले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानवादलाई नै आत्सात गरी सुशासन, भ्रष्टाचार निवारण र सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा लगायत तीन वटा माग अघि सार्ने छलफल भएको भणडारी बताउँछन्।
तर त्यस मिटिङमा मिराजले भने आफ्ना माग फरक रहेको र भदौ २३ गते हुने आन्दोलनमा सहभागी नहुने बताउँदै निस्किएको युजनले उल्लेख गरेका छन्।
‘त्यहाँ उपस्थित हुनुभएको मिराज ढुंगानाजीले यी मुद्दा उनका व्यक्तिगत एजेण्डासँग मेल नखाने भन्दै असहमति जनाए र आफूले फरक उद्देश्य राखेर छुट्टै समूहबाट आन्दोलन गर्ने बताए। त्यतिबेलै उनले भदौ २३ अर्थात् सेप्टेम्बर ८ को बिहान ९-११ बजे हुने आन्दोलनमा नआउने घोषणा गरे र निस्किए। भोलिको आन्दोलनमा उनी आएनन् पनि,’ युजनले लेखेका छन्।
उनका अनुसार मिराजले बरू भदौ २३ गते साँझ ६ बजेतिर छुट्टै आन्दोलन गर्ने बताएर निस्केका थिए।
त्यसपछि त्यही साँझ भक्तपुरस्थित दुर्गा प्रसाईंको घरमा पुगेर खिचिएको तस्बिर सार्वजनिक भएको थियो। पछि मिराजले एक टिकटक भिडिओमार्फत आफू दुर्गा प्रसाईंलाई बोलाउन नभई नआउन भनेर अनुरोध गर्न गएको बताएका थिए।
भदौ २३ गते नआएको भन्दै अहिले कसरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग असली एजेन्डा हो भनेर प्रश्न गरेका छन्।
‘उनको देखाउने दाँत 'प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री' हो तर चपाउने दाँत के हो? र विश्वका धेरै मुलुकमा रहेको प्रत्यक्ष राष्ट्रपतिको सट्टा किन कुनै देशमा पनि नरहेको प्रत्यक्ष प्रधानमन्त्री? प्रधानमन्त्रीका माथि कसलाई राख्ने योजना हो?,’ उनको प्रश्न छ।
यद्यपि युजनले पनि ढुंगानाको फरक मतलाई सम्मान गर्नुपर्ने बताएका छन्।
‘लोकतन्त्र नै मान्दिनँ भन्नेहरूलाई पनि लोकतन्त्रको सडकमा ठाउँ हुनुपर्छ, हुन्छ! सँगै के बुझ्नुपर्छ भने लोकतन्त्रमा फरक मतको विरूद्ध प्रतिरोध पनि हुन्छ। जुनसुकै प्रतिगामी आवाजका विरुद्ध लड्न हामी तयार छौं। पुराना राजनीतिक दलका शीर्ष नेतृत्वलाई नट अगेन भनिरहँदा, तानाशाही निरङ्कुशतालाई त नेभर अगेन भनिरहेका छौं। हेक्का रहोस्!,’ उनको भनाइ छ।