राजनीतिक विश्लेषक हरि शर्मा नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले काठमाडौंमा आज गरेको भेलामा सहभागी भए।
उनले आफू कुनै पनि पार्टीको सदस्य नरहेको उल्लेख गर्दै कांग्रेस केन्द्रीय समितिले विशेष महाधिवेशन पक्षधरलाई बिरालोले मुसा खेलाएझैं खेलाएको देख्दा चित्त दुखेर आएको बताए।
‘म यो पार्टीको सदस्य छैन तर पार्टीको छहारीभित्र हुर्केको नागरिक हुँ। मलाई जसरी तपाईंहरूको केन्द्रीय समितिले तपाईंहरूलाई बिरालोले मुसा खेलाएकोजस्तो खेलायो, त्यो देखेर चित्त दुखेर आयो। तपाईंहरूलाई अपहेलना गरेको देख्दा नागरिकको हैसियतले मन रोयो, त्यसैले म यहाँ आएँ,’ शर्माले भने।
लोकतन्त्रमा कुनै किसिमको कालो बादल आयो भने आफ्नो नागरिक चेत खलबलिने शर्मा बताउँछन्।
‘लोकतन्त्रमा कुनै किसिमको कालो बादल आयो भने मेरो नागरिक चेत खलबलिन्छ। कुनै समयमा हामीले नेताको विवेकमा पार्टीलाई छाडेको हो। तपाईंहरूले बढो मेहनत गरेर आफ्नो अधिकार आफ्नो हातमा लिनुभएको छ, म यहाँ तपाईंहरूलाई सलाम गर्न आएको हो,’ शर्माले भने, ‘विधानमा व्यवस्था भएअनुसार विशेष महाधिवशेन माग्दा सुन्न नसक्ने? जुन किसिमको तिरस्कार कुरा यहाँ सुनेँ, त्यसले लोकतन्त्र बलियो होलाजस्तो मलाई लाग्दैन।’
उनले विधि र कुनै पनि डरबिना नेतृत्व छान्न शुभकामना दिएका छन्। सभापति शेरबहादुर देउवा कुटिँदा यो पार्टी कहाँ थियो र त्यो परिस्थिति कसरी र किन आयो भन्ने प्रश्न पनि उनले गरेका थिए। सामाजिक सञ्जाल बन्द गर्न नहुने उनको भनाइ थियो।
‘नेताहरूले गल्ती स्वीकार गरेको खासै सुनिँदैन, गगन थापाले गल्ती स्वीकार गरेको सुनेँ, गल्ती स्वीकार गर्नु नेतृत्वको ठूलो कुरा हो,’ शर्माले भने, ‘अहिलेको जस्तो अराजकता त दरबार हत्याकाण्डका बेला पनि थिएन। यो राज्य भत्केको होइन, पग्लेको हो।’
उनले राष्ट्रपति र गणतन्त्रले स्थिति सम्हालेको पनि बताए। ‘गणतन्त्र र राष्ट्रपतिले जोगाएको हो हामीलाई, नत्र आज नेताहरू नख्खु जेलमा हुन्थे,’ उनले भने, ‘रक्षा बमलगायतले प्रधान सेनापतिलाई तपाईंले कू गर्न खोजेको हो भनेर गरेको प्रश्नले लोकतन्त्र जोगाएको हो, प्रश्नले लोकतन्त्र जोगाउँछ।’
उनले लोकतन्त्र र षड्यन्त्र सँगसँगै जानै नसक्ने पनि बताए। उनले लोकतन्त्र बचाउन, चुनाव गराउन र नागरिकलाई चयनको अधिकार दिन पनि आग्रह गरेका छन्।
‘नेतृत्वको हैकम तपाईंहरूले बुझ्नुभएको छ, लोकतन्त्रमा देश, समाज र नागरिकको भविष्य रहन्छ। त्यसको संवाहक झण्डा बोक्ने तपाईंहरू हो,’ उनले भने, ‘कांग्रेसले चुनावमा जाने निर्णय गरेर अरू पार्टीलाई पनि त्यसतर्फ डोहोर्यायो।’
उनले पार्टीको नयाँ नीति र नेतृत्व चुन्न पनि आग्रह गरेका छन्। साथै नयाँ पुस्तालाई भरोसा लाग्ने पार्टी बनाउन पनि आग्रह गरेका छन्।