नेपाली कांग्रेसका नेता ओमकार श्रेष्ठले पार्टीकै केही पदाधिकारीहरूले महाधिवेशन रोकेको बताएका छन्।
ती पदाधिकारीहरूलाई उनले थाँक्रोमा चढेको लहराहरू भन्ने उपमासमेत दिए।
‘मैले कार्यवाहक सभापतिसहित केन्द्रीय सदस्यहरूसँग पनि कुरा गरेको छु, भोलि केन्द्रीय समिति बैठक छ। दाइ, सबैलाई स्वीकार्य नहुने निर्णय त म गर्न दिन्न है भनेर कार्यवाहक सभापति पूर्ण खड्काजीले मलाई भन्नुभएको छ, उहाँलाई तपाईंहरूले पनि आड दिनुस्, हामी छौं साथमा भनेर,’ विशेष महाधिवेशन पक्षधरले आज राष्ट्रिय सभा गृहमा आयोजना गरेको भेलामा बोल्दै उनले भने, ‘त्यहाँ एकथरि छन्, थाँक्रोमा चढेका लहराहरू। उनीहरूसँग सतर्क हुनुस्। थाँक्रो भाँचियो, लहरा भुइँमा झर्यो।’
उनी २०१४ सालमा भएको कांग्रेस विशेष महाधिवेशनमा पनि सहभागी भएका थिए। त्यसैले विशेष महाधिवेशन पक्षधरले उनकै अध्यक्षतामा आज भेला गरेका हुन्। उनले विधानअनुसार ५४ प्रतिशतले विशेष महाधिवेशन मागेकोले यो बाध्यकारी भएको पनि बताए। अहिलेकै जस्तो विशेष परिस्थिति आउँछ भन्ने सोचेर आफूसहितले विधानमा त्यो व्यवस्था राखेको उनको भनाइ थियो।
‘२०१४ सालमा सभापतिको प्रस्तावमा गएर विशेष महाधिवेशनबाट सभापति हस्तान्तरण गरेको पार्टी हो यो, आज विशेष महाधिवेशन गरे पार्टी विभाजन हुन्छ भनेर हल्ला गर्ने पदाधिकारीहरू पनि बसिरहेका छन्, उनीहरूको भर नपर्नुस्,’ उनले भने, ‘नयाँ नेतृत्व चुन्नुस्। विधानले विशेष महाधिवेशन नभई छाड्दैन।’
जेनजी आन्दोलनमा घाइते भएका सभापति शेरबहादुर देउवालाई त्यसपछि आफूले फोन गरे पनि नउठाएको र 'कल ब्याक' पनि नगरेको उनको भनाइ थियो।
उनले विशेष महाधिवेशनले पार्टीलाई जुटाउने पनि बताएका छन्। केहीले विशेष महाधिवेशन माग गर्नेहरूलाई 'जे जे मन लाग्यो त्यही भन्ने गरेको' समेत उल्लेख गरे।
‘विशेष महाधिवेशन माग गर्नेलाई कसैले नक्कली भनेका छन्, जे जे मन लाग्यो त्यो भनेका छन्। विचरा शेरबहादुर देउवाजी हल न चल गरेर बसेका छन्, अरूले लहराले छोपेका छन्। अब लहराको के समस्या छ भने- त्यो बोट भाँचियो भने भुइँमा पर्छु भन्ने डर छ, अहिले अधिवेशनको बाधक यही भुइँमा पर्छु भन्ने डर भएका मानिसहरू हुन्,’ उनले भने।