नेपाली कम्युनिस्ट पार्टीका पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बन्न आवश्यक नरहेको उल्लेख गर्दै जनताको सेवकको रूपमा सधैं काम गर्ने बताएका छन्।
बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्थानीय विकास, राष्ट्रिय राजनीति र वर्तमान परिस्थिति र नेपाली कम्युनिस्ट पार्टीबारे धारणा राखेका हुन्।
गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले गरेको काम र जनताप्रतिको सेवा भावबाट आफू प्रभावित भएको बताउँदै प्रचण्डले भने, ‘म भगवान होइन। तपाईंहरूको सेवाको निम्ति धेरै वर्षदेखि समर्पित जनताको सेवक हुँ। तै पनि कृष्ण थपलिया जीले मलाई जुन रूपमा प्रस्तुत गर्नुभयो, उहाँको भावना र स्पिरिटलाई म कदर गर्छु र उहाँलाई धन्यवाद भन्न चाहन्छु।’
कार्यक्रममा पार्टी नेता राजेन्द्र पाण्डेले आगामी निर्वाचनपछि प्रचण्डलाई फेरि प्रधानमन्त्रीको रूपमा देख्न चाहेको बताएका थिए।
त्यसको जबाफ दिँदै प्रचण्डले भने, ‘मलाई अब प्रधानमन्त्री नै भएर मात्रै देशको काम गर्न सकिन्छ भन्ने त लागेको छैन। प्रधानमन्त्री बन्ने त्यस्तो धेरै रूचि र त्यसको निम्ति चाहिँ मरिहत्ते इच्छा पनि छैन। तर देशले माग्यो, जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने पनि मेरो प्रकृति होइन।’
अध्यक्ष प्रचण्डले पाण्डेले व्यक्त गरेको भरोसाप्रति आभार व्यक्त गर्दै जनताले चाहने र देशले आवश्यक ठानेमा जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने बताए।
संयोजक प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउने विषयमा आफूले प्रधानमन्त्रीका रूपमा गरेको प्रयास र लगानी जुटाउने कोसिसको स्मरण गरेका थिए।
प्रधानमन्त्री भए पनि नभए पनि परियोजनाप्रति आफ्नो जिम्मेवारी कायमै रहने उनको भनाइ थियो।
‘म जुनसुकै जिम्मेवारीमा रहे पनि यो परियोजना अघि बढाउन म निरन्तर लागि पर्छु,’ उनले भने।
प्रधानमन्त्री भएका समयमा सिंहदरबारमा परियोजनाका मोडालिटी र आर्थिक संयोजनबारे तीन पटकभन्दा बढी उच्चस्तरीय बैठक भए पनि इच्छाअनुसार गति दिन नसकिएको उनले बताए।
‘बेनिघाट रोराङ देशभरि ‘बेरूजु–विहीन’ र उच्च कार्यक्षमता भएको पालिका भनेर चिनिएको छ, र यसले अन्य स्थानीय तहलाई प्रेरणा दिएको छ,’ उनले भने।