२०५० भदौदेखि २०७९ पुससम्म काठमाडौं महानगरपालिकाको नगर प्रहरीमा काम गरेका व्यक्ति हुन्, लोकनाथ चुडाल।
उनले महानगरबाट राजीनामा दिने बेला नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरूद्ध विभिन्न आरोप लगाएका थिए। पाण्डेको अत्याचार सहन नसकेर राजीनामा दिएको उनले सार्वजनिक रूपमै बताएका थिए।
उनै चुडाल अहिले धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको उपाध्यक्ष बनेका छन्।
महानगर प्रहरीका प्रहरी नायब निरीक्षक (सई) बाट अवकाश लिएको तीन वर्षपछि हर्क साम्पाङको पार्टीबाट राजनीतिमा प्रवेश गरेका चुडाललाई हामीले यसको कारणबारे प्रश्न गरेका छौं।
चुडालसँगको कुराकानीको सम्पादित अंश —
झन्डै तीन दशक लामो समय काठमाडौं महानगरको नगर प्रहरीमा सेवा गर्नुभयो। अहिले श्रम संस्कृति पार्टीको उपाध्यक्ष बन्नुभएछ। प्रहरी सेवाबाट राजनीतिमा किन लाग्नुभयो?
विचार, आन्दोलन र समाजभन्दा बाहिर कुनै पनि नागरिक हुँदैन। त्यसो हुँदा देशको चिन्ता र चासो हरेक नागरिकले गरेकै हुन्छ। उसले आफ्नो भूमिका कसरी खोज्छ भन्ने चाहिँ नागरिकको चेतनामा निर्भर गर्छ। राष्ट्रका लागि, समाजका लागि योगदान दिन खोज्ने भूमिका प्रत्येक नागरिकले बुझेकै हुन्छ, कुन स्तरमा बुझ्छ भन्ने मात्र फरक हो।
राजनीतिमा लाग्ने निर्णयमा चाहिँ कसरी पुग्नुभयो?
राजनीति ठीक भयो भने समाज पनि एउटा ट्रयाकमा हिँड्छ। नैतिक मूल्यको राजनीति र राष्ट्रप्रति समर्पित राजनीतिक दृष्टिकोण भयो भने समाज असल बन्छ। सबै नीतिहरूलाई कमान्ड गर्ने नीति भनेको राजनीतिक नीति हो। त्यही नीतिले राज्यका हरेक अंग सञ्चालित हुन्छन्। एउटा सचेत नागरिकको हिसाबले राजनीतिलाई नजिकबाट बुझेको हुनाले यो चाहिँ राजनीतिमा बेठिक भएको छ, अब सानो भूमिका फरक कोणबाट गर्नुपर्छ भन्ने सोचेर म यो निर्णयमा पुगेको हुँ।
तपाईंको पार्टी अध्यक्ष हर्क साम्पाङसँग पहिलो भेट कहिले भएको हो?
मेरो पहिलो भेट काठमाडौंमा चार महिनाअघि भएको थियो। उहाँ काठमाडौं आउँदा, उहाँको स्वागतमा गरिएको एउटा छोटो कार्यक्रम थियो, त्यो कार्यक्रममा म अतिथि भएँ। मैले सानो मन्तव्य पनि राखेको थिएँ। त्यही बेला उहाँसँग अलि कुरा भयो।
त्यस पछाडि धरान गएपछि चाहिँ राजनीतिक, वैचारिक यी सबै विषयमा उहाँसँग २०–२५ मिनेटजति छलफल भएको हो। धरानबाट फर्केपछि तीनवटा मिटिङमा उहाँसँगै बस्ने कुरा भयो। उहाँले पनि मलाई लगभग 'वाच' गरिरहनुभएको रहेछ। 'तपाईंको कुरा बहुत तार्किक हुन्छ सर' भन्नुभएको थियो। पार्टीमा जोडिएपछि त च्यानलले नै सम्पर्क हुने कुरा हो। निरन्तर सम्पर्क हुँदै गयो।
पार्टी उपाध्यक्ष बस्नुपर्छ भनेर हर्क साम्पाङले प्रस्ताव गर्नुभयो?
प्रस्ताव उहाँले नै गर्नुभयो। तर त्यसअघि पार्टीमा उपाध्यक्ष देवराजजी, महासचिव आरेन राईहरुसँग निरन्तर छलफल भयो। देवराजजीको विचार र निष्कर्षबाट धेरै प्रभावित भएको थिएँ।
तपाईंको विचारमा अहिले मुलुकको मूलभूत राजनीतिक समस्या के हुन्?
अहिले राष्ट्रमाथि धेरै अन्तर्राष्ट्रिय ढंगका हस्तक्षेप निम्तिएका छन्। कतै विकासका नाममा कतै परियोजनाका नाममा। हाम्रो राष्ट्रिय स्वतन्त्रता कमजोर हुँदै गएको छ, राष्ट्रिय सार्वभौमसत्ता कमजोर हुँदै गएको छ। पछिल्ला घटना तपाईं सञ्चारकर्मीहरूले पनि बुझ्नुभएकै छ। ठुल्ठूला सम्झौता पनि भइरहेका छन्।
एमसिसी जस्ता प्रोजेक्टले पनि राष्ट्रको संविधानभन्दा माथि रहेर त्यसलाई उजुरबाजुर नलाग्ने भनेकै छन्। यो नेपालको राष्ट्रिय स्वतन्त्रतामाथि हस्तक्षेप हो, नेपालको कानुनमाथि हस्तक्षेप हो। यस्ता थुप्रै कुरा छन्। यो राजनीतिभित्रै हुन्छन्। यस्ता कुराले समाज र राष्ट्रलाई भोलिको भविष्यका निम्ति हानि–नोक्सानी गर्दैछन्। हामी घुमाउरो ढंगले आजको आधुनिक उपनिवेशवादको कोपभाजनमा पर्दैछौं। ऊ यहीँ नै आफ्नो पक्षमा काम गर्ने भतुवाहरू निर्माण गर्न चाहन्छ। अनि तिनलाई आर्थिक स्रोतले लोभ्याउँछ, अरू स्रोतले लोभ्याउँछ। नेपाली जनतालाई पनि यस्तै विकासका नाममा, सामाजिक कामका नाममा उसले 'डलराइजेसन' गर्दिन्छ। अहिले त्यही भइरहेको छ। यो प्रमुख समस्या हो।
हाम्रो समाज भनेको बहुपरम्परा, बहुभाषिक, बहुजातीय समाज हो। उसले त्यसभित्र पनि विभिन्न कोणबाट आक्रमण गरिराखेको छ र खेलिराखेको छ। नेपाली समाजलाई विभक्त गर्ने, छुट्याउने, अनि राजनीतिक द्वन्द्व, समुदाय विशेषको द्वन्द्व वा धार्मिक तथा सांस्कृतिक द्वन्द्व गराएर नेपाली समाजको ऊर्जा र तागत कमजोर बनाइदिने काम भइरहेको छ।
रूवान्डामा जसरी विभिन्न समुदायबीच भिडन्त गराएर देशै ध्वस्त पारियो, यहाँ पनि विदेशी षड्यन्त्रले विकासका नाममा, आइएनजिओका नाममा, एनजिओका नाममा नीति तथा योजनाहरू छिराएर समाजका मान्छेलाई एकअर्काप्रति अविश्वासको घेरामा उभ्याइदिने काम गरिरहेको छ। यो खालको षड्यन्त्र आज इन्डो–वेस्ट शक्तिले नेपालमा गरिरहेका छन्।
पूरै ठोकुवा गरेर विदेशीहरूतिर आरोप लगाउनुभयो। यसको वस्तुगत आधार पनि छन् कि तपाईंसँग?
एमसिसी संविधानभन्दा माथि हुने, नेपाली कानुन अनुसार कारबाही नहुने, एमसिसीबारे प्रश्नै उठ्न नपाइने भनेको के हो? नेपालको कानुनले त्यसलाई कमान्ड गर्दैन भने त्यो प्रोजेक्ट कसको हो त? अमेरिकाको? अनि यो हाम्रो सार्वभौमिकतामाथि सोझै हस्तक्षेप भएन?

तपाईंहरू त्यसो भन्नुहुन्छ। तर राज्यले स्वीकार गरेर, सिंगो संसदले व्याख्यात्मक टिप्पणी गरेर यो परियोजना स्वीकार गरेको होइन र?
यस्ता व्याख्यात्मक टिप्पणी आउँछन्। आज दातृ निकायहरूले दिएको सहयोगलाई विकासको विरोध गर्नु हुँदैन भन्छन्। यो भित्रबाट 'अनसिन' छ, देखिँदैन। तपाईंले पनि देख्नुभएको छैन, मैले पनि देखेको छैन। यो राजनीतिक ढंगले अनुमान गर्ने कुरा हो। यहाँका सबै पार्टी बिक्री भएका छन्। नभए व्याख्यात्मक टिप्पणी आउँदैनथ्यो।
मजदुर किसान पार्टीका एक जना सांसद प्रेम सुवाल बाहेक अरू सबैले पक्षपोषण गर्नुभयो। सबै बिके। चुनाव खर्चका नाममा बिके, आफ्ना सन्ततिलाई विदेश जाने बाटो बनाउन बिके। नेपालमा नेताहरूका करोडौं–अर्बौंका घर, घोडा, गाडी, स्रोतसाधन र आयअर्जनको बाटो के हो त?
यी सारा समस्यासँग जुध्न श्रम संस्कृति पार्टी उपयुक्त प्लेटफर्म हुन्छ भन्ने लागेर तपाईं त्यसको उपाध्यक्षको जिम्मेवारी लिन तयार बन्नुभएको हो?
यसमा शंका भएन। अहिले हाम्रा सारा स्रोतसाधन अरूले कब्जा गर्न प्रयत्न गर्ने, अनि हामी त्यो बेचेर उन्नति हुन्छ भनी आस गर्ने! यो संसारमा कुनै पनि मुलुक मागेर बनेको मलाई एउटा उदाहरण देखाइदिनुस् न त!
विश्वका दुई–अढाई सय राष्ट्रमध्ये मागेर बनेको देश कुन हो? त्यसैले विदेशी ऋण ल्याएर मुलुक बन्दैन। नेपाल आफ्नै भूगोलको जनता जगाएर, त्यसलाई आधुनिकीकरण गर्न प्रयत्न गर्दै, उत्पादनमा आत्मनिर्भर हुँदै, आफ्नै जमिनको उत्पादनबाट आत्मनिर्भर हुनुपर्यो।
हाम्रो समाजले काम गर्नुपर्छ, कर्म गर्नुपर्छ, आफ्नो देश आफै बनाउनुपर्छ भन्ने हाम्रो लाइन हो। आजसम्मको राजनीतिले समाजलाई मेहनत गरेर खानुपर्छ, समाजले आफै उत्पादन गर्न प्रेरित हुनुपर्छ, राजनीतिकर्मीहरूले पनि जनताको सेवामा लाग्नुपर्छ र जनतासँगै काम गरेर उत्पादनको दिशामा अगाडि बढ्नुपर्छ भन्ने नै सिकाएन। २०४६ सालदेखि आजसम्मका सरकारले यस्तो नीति, योजना र कार्यक्रम नै ल्याएन। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले भन्न खोजेको नै यही हो।
भनेको, यदि तपाईंहरूको हातमा मुलुकको सत्ता पुग्यो भने विदेशी सहयोगबेगरै मुलुक चलाउने?
हामीले त्यसो भनेकै छैनौं। यसो भन्नु पाखण्डको कुरा हो। देशको सार्वभौमिकता बन्धक राखेर सहयोग लिनुहुन्न मात्र भनेको हो हामीले। अब जनताले त्यो कुरा कति आत्मसात गर्छन्, नेपाली बुद्धिजीवीहरूले त्यो कुरा कसरी ग्रहण गर्नुहुन्छ, हेर्नुछ।
यहाँ अमेरिकाका उदाहरण दिने, युरोपका उदाहरण दिने धेरै छन्। नेपाली इतिहासको उदाहरण दिऊँ न, मल्लकालको उदाहरण दिऊँ न, लिच्छविकालको उदाहरण दिऊँ। अंशुवर्माहरूले यो मुलुकलाई कसरी उठाए, त्यसको उदाहरण दिऊँ न।
जबसम्म श्रम, संस्कृति, प्रविधि र प्रकृतिको संयोजन र फ्युजनबाट नेपाल राष्ट्रले अगाडि बढ्ने नीति लिँदैन, तबसम्म नेपालका यी कुनै पनि समस्या हल हुँदैनन्, अरू बल्झिएर जान्छन्।
तपाईंहरूले अंगाल्ने 'हर्कवाद' ले मुख्य रूपमा के गर्ने भन्छ त?
हामीले भन्यौं — सामाजिक रूपमा श्रम गरौं, सामूहिक रूपमा उत्पादनको दिशामा जाऔं। हामी सत्तामा पुगेको दिन कृषिमा सामूहिक उत्पादनको नीति बन्छ। हाम्रा उत्पादनयोग्य जमिनहरू सहरीकरणका नाममा, आधुनिकताका नाममा, प्लटिङका नाममा खेर गइरहेका छन्। भोलि हाम्रा सन्ततिले भात खानुपर्दैन? जिउनु पर्दैन? उत्पादनयोग्य जमिन जोगाउनु प्रत्येक नेपाली नागरिकको कर्तव्य हो, राजनीतिको पनि कर्तव्य हो।
तपाईं मुलुकको राजनीतिसँग यसरी असन्तुष्ट हुनुहुँदो रहेछ, ३० वर्षसम्म महानगर नगर प्रहरीमा कसरी बस्न सक्नुभयो? अहिले जसरी नै त्यो बेलै अघि बढौं भन्ने हिम्मत भएन कि के मिलेन?
म माध्यमिक तह पढ्दै गर्दादेखि नै राजनीतिमा अनुबन्धित थिएँ। विगतमा वामपन्थी आन्दोलनमा सक्रिय थिएँ। जागिरमा हुँदा पनि फरक नाम राखेर राजनीतिक दृष्टिकोण र राजनीतिक संगठनतिर कतै आबद्ध थिएँ। मेरो निरन्तरता थियो। पछिल्लो समय परिवर्तनकारी भनिएर उदाएको राजनीतिक शक्तिसँग पेशागत क्षेत्रमा म खुल्लमखुल्ला नेतृत्व गरेरै हिँडेको मान्छे हो। त्यस कारण म राजनीतिबाट बेखबर थिइनँ।
जब यो राजनीतिले काम दिँदैन भनेपछि म ट्रेड युनियन अधिकार प्रयोग गरेर संगठन निर्माणको विषयमा कानुनले दिएको अधिकार प्रयोगमा लागेँ र युनियन काजमा पनि पाँच–सात वर्ष बसेँ।
महानगर प्रहरी सेवामा हुँदाहुँदै राजनीतिमा सक्रिय हुन तपाईंलाई संस्थागत अनुशासनले दिन्थ्यो?
मभन्दा माथिल्ला अधिकृतहरू अरू राजनीतिक पार्टीको संगठनमा बस्थे। त्यो अनुशासन मलाई मात्र लाग्ने हुन्थ्यो र? अदालतले पनि के भन्दियो भने, यो प्रहरी होइन, महानगरको सुरक्षाकर्मी हो। मेरो तत्कालीन हाकिम अर्को कुनै पेशागत ट्रेड युनियनमा लाग्छ भने मलाई आफ्नो विचार र भावना मिल्नेसँग ट्रेड युनियन आन्दोलनमा जोडिन कानुनले छेकेन।
अहिले राजनीतिक रूपले एउटा जिम्मेवारी पाउनुभएको छ, तपाईंले विगतको राजनीतिक आबद्धता सार्वजनिक गर्नै नमिल्ने हो र?
म विद्यार्थी कालमा माले पार्टीसँग जोडिएको थिएँ। मार्क्सवादी र माले एकीकृत भएर एमाले बन्यो। म एमाले पार्टीलाई समर्थन गर्थेँ। जब २०५३ साल असोज ४ गते संसदमा महाकाली सन्धि गरेर एमालेले राष्ट्रघात गर्यो, त्यसपछि मैले एमाले छाडेँ र स्वतन्त्र रूपमा बसेँ।
त्यसपछाडि आमूल परिवर्तनकारी 'जनयुद्ध' भयो। माओवादी शान्ति प्रक्रियामा आएपछि मुलुक बदल्छ, किसानहरूका समस्या हल हुन्छन्, गरिबका पक्षमा न्याय हुन्छ, भ्रष्टाचार अन्त्य हुन्छ, देशमा सुशासन हुन्छ, राष्ट्रियता र सार्वभौमिकताको रक्षा हुन्छ भन्ने बुझाइले त्यसैमा रहेँ। त्यो पार्टीले त्यहाँसम्म गल्ती गर्दैन भन्ने बुझाइ थियो। त्यही बुझाइका कारण मैले १५–१६ वर्ष पेशागत क्षेत्रमा रहेर त्यो पार्टीलाई नैतिक समर्थन गरेँ।
मैले त्यही पार्टीसँग निकट रहेको राष्ट्रिय कर्मचारी महासंघको एक वर्ष सचिव पनि चलाएको हो। स्थानीय निकाय राष्ट्रिय समितिको वरिष्ठ उपाध्यक्ष भएर पनि लामो समय काम गरेँ। २०७४ पछि मैले पार्टी सदस्यता नवीकरण नगरेर त्यो पार्टीबाट पनि अलग भएँ।
म जागिरमा हुँदै काठमाडौं महानगरमा जब युवा नेतृत्व बालेन शाह आउनुभयो, उहाँसँग नौ महिना काम गरेँ। त्यही बेला लाग्यो अब यी कुनैले पनि यो मुलुकलाई अगाडि उठाउँदैनन् भन्ने।
जेनजी आन्दोलनताका बालेन शाह 'नेसनल आइकन' जस्तो बन्नुभएको थियो। तपाईंलाई चाहिँ उहाँप्रति किन अविश्वास भयो?
बालेनजीको टिम ठिक छैन भनेर जति बेला मैले 'कन्डिसनल' राजीनामा बुझाएँ, त्यही बेला भनेको हो — उहाँको टिम आर्थिक रूपले ठिक ठाउँमा छैन। सही काम गर्दैन। कर्मचारी निचोरेर राख्नुभएको छ। अनुसन्धान भए त्यहाँका धेरै कर्मचारी उहाँको कार्यकालमा जेल जान सक्छन्।
व्यक्तिगत रूपमा बालेनजीबारे तपाईंको धारणा?
व्यक्तिगत रूपमा बालेनजीको आत्मा कस्तो छ, व्यवहार कस्तो छ भन्ने कुरा म आग्रह राखेर भन्दिनँ, पूर्वाग्रह राखेर पनि भन्दिनँ। जेनजी आन्दोलनलाई परीक्षण गर्दा उहाँ यो राष्ट्रप्रति इमानदार हुनुहुन्छ भनेर मलाई चाहिँ विश्वास छैन।
तपाईं महानगर प्रहरीमा छँदा बालेन शाहको आडमा महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेबाट पीडित बनेको बताउनुभएको थियो। राजीनामा दिँदा पनि तपाईंले सार्वजनिक रूपमा आरोप लगाउनुभएको थियो। बालेन शाहसँगको रिसले हर्क साम्पाङको दलतिर लाग्नुभएको हो?
यसो भन्नु सबभन्दा पाखण्ड र भ्रम हो। बालेनजीले हर्कजीको विचार बोकेको भए म बालेनजीसँगै हुन्थेँ होला नि त! यो विचारसँगको कुरा हो। अब उहाँहरू बन्द कोठाभित्र अन्तै रिमोटबाट चल्नेजस्तो आभास आज राजनीतिक वृत्तमा भएकै छ त।
त्यस कारण म त्यस्तो कुराको पक्षमा छैन। मेरो एउटा सिधा राजनीतिक दृष्टिकोण छ। मसँग क्षमता कति होला, म कति गर्न सकौंला, जनताले मेरो कुरा कति सुन्दिन्छन् होला, त्यो पार्टीको भूमिका म कति पूरा गरौंला, यी गौण कुरा हुन् भन्ने मान्नुस् अहिलेलाई।
मेरो सिधा दृष्टिकोण भनेको म यो राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकताको पक्षमा उभिन्छु। यदि भोलि श्रम संस्कृति पार्टी पनि त्यो दिशामा उभिँदैन भने म एक्लै उभिन्छु।
नेपालमा 'राष्ट्रवाद' को नारा विगतमा एकदमै लाग्थ्यो, अहिले पनि लागिरहेकै छ। तपाईं त्यही नाराबाट दीक्षित हुनुहुँदो रहेछ भनियो भने के हुन्छ?
अब कसैले यसलाई खोक्रो राष्ट्रवाद पनि भन्लान्, मैले गुदी राष्ट्रवाद भन्नेहरूको राष्ट्रवाद पनि देख्या छु। सन् १९५० को असमान सन्धि पुनरवलोकन गर्नुपर्छ भन्ने नारा लगाएर बाबुरामजी, प्रचण्डजीहरूले १० वर्ष युद्ध चलाउनुभयो। तर सत्तामा आएपछि त्यो आवाज उठाउनु भएन। त्यसैले म एक्लै हुन सकुँला, तर राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकताको विषयमा, नेपाली आत्मसम्मानको विषयमा म निरन्तर र निसंकोच उभिन्छु।
***