केही समयअघि सिस्नुपानी नेपालको कार्यक्रममा प्रस्तुत 'माण्ठ हुँ म माण्ठ' गीतले निकै चर्चा पायो।
यो गीत लेखक माधव चौलागाईंले लेखेका हुन्। माधव आफ्ना लेखमार्फत् कर्णाली चिनाउँदै आएका लेखक हुन्। उनको 'सपादलक्ष कर्णाली' किताब पनि प्रकाशित छ। 'माण्ठ हुँ म माण्ठ' गीत उनको त्यही किताबमा समावेश थियो।
उनै माधव चौलागाईं प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम मन्त्रिपरिषदमा मन्त्री बन्ने भएका छन्।
आज शुक्रबार शपथ लिन लागेका चार नयाँ मन्त्रीमध्ये चौलागाईं एक हुन्। उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
जुम्लाका चौलागाईंले कक्षा १२ सम्मको पढाइ त्यहीँ पूरा गरेका थिए। त्यसपछि उनी स्नातक पढ्न सुर्खेत आए। छात्रवृत्तिमा स्नातकोत्तर पढ्न थाइल्यान्डको बैंकक गए। त्यहाँ उनले जनस्वास्थ्य विषय पढे।
पढेर आएपछि सोही क्षेत्रमा कर्णालीका लागि काम गरे। उनले मानवशास्त्रमा एमफिल गरेका छन् र विद्यावारिधि गर्ने पनि सोचमा छन्।
'जुम्लाबाट अन्यत्र पढ्न जाँदा सुरूमा त मलाई झट्का लागेजस्तो हुन्थ्यो। म मानिसहरूसँग बोल्दिन पनि थिएँ। नेपालका साथीहरूले त मलाई जुम्ली भनेर होच्याउँथे। बिस्तारै सबै डर र होच्याउने कुराबाट माथि उठ्दै गएँ,' माधवले केही समयअघि सेतोपाटीसँगको कुराकानीमा भनेका थिए, 'कर्णाली कति अगाडि र पछाडि छ भन्ने कुरा यहाँका मानिस कतै पुग्दा उसको आत्मसम्मान कहाँ छ र उसलाई कत्तिको साहस आइरहेको छ भन्नेले पनि निर्धारण गर्छ होला।'
कर्णाली पछाडि पर्नुका पछाडि ऐतिहासिक, भौगोलिकदेखि महामारी, द्वन्द्व, भूकम्प लगायत कारण त छन् नै, सरकारको बेवास्ता र अवहेलना पनि रहेको माधवको बुझाइ छ।
'यदि कुनै दौडमा नेपाल सहभागी छ भने कर्णालीलाई अलग पारेर सफल हुनै सकिँदैन। कर्णालीको समय धिमा छ भने नेपालको समय छिटो हुँदैन। कर्णालीको समय छिटो बनाउनु भनेको नेपालको समय पनि छिटो बनाउनु हो। कर्णालीलाई विशेष चासो दिएर त्यसको विकासमा जोड दिने हो भने समग्र देशकै गति छिटो हुन्छ,' माधव भन्छन्।
कर्णालीको धिमा गति छिटो बनाउन सकारात्मक विभेद आवश्यक भएको उनी देख्छन्। विशेष कोटाको आवश्यकतालाई उनले औंल्याउन खोजेका हुन्। त्यसका साथै कर्णालीको इतिहास पनि कर्णालीकै मान्छेले लेख्न जरूरी भएको उनी देख्छन्।
माधवको किताब 'सपादलक्ष कर्णाली' कर्णालीको इतिहासलाई सही तरिकाले देखाउने प्रयास हो। यो किताबले सुरूमा त कर्णालीलाई चिनाउन सहायता गर्छ। कर्णालीलाई आलोचनात्मक दृष्टिले हेर्ने वातावरण सिर्जना गर्छ। कर्णालीका मानिसले यो किताब पढ्ने हो भने उनीहरूले आफ्नो ठाउँमा अनन्त सम्भावना देख्न सक्छन्। आफ्नो कथा आफै लेख्नुपर्छ भन्नेमा प्रेरित पनि होलान्। कर्णाली बाहिरका मानिसलाई त कर्णाली बुझ्न सहयोगी हुने भइहाल्यो।
'म मेरो परिवारको पहिलो साक्षर व्यक्ति हुँ। मेरी आमाले प्रौढ शिक्षाबाट आफ्नो नाम मनोशोभा लेख्न सिक्नुभएको थियो। किताब विमोचनमा आमाले आफ्नो नामको हस्ताक्षर गर्नुभएको थियो,' माधवले खुसी हुँदै सुनाएका थिए।
माधव 'कुडा कर्णाली' नामक वैचारिक छलफलको उत्सवमा सक्रिय छन्। यो उत्सवले बहसमार्फत कर्णाली चिन्ने र चिनाउने प्रयास गरिरहेको छ।
कर्णालीलाई मानिसहरूले सधैं पिछडिएको र अभावमा रहेको ठाउँ भनेर चिने। यस्तै कुनै कुरालाई बिम्ब दिनुपर्दा 'कर्णाली जस्तो' भनिरहे। यो बिम्ब सकारात्मक बनाउने अभियानमा छन् माधव।
'कर्णालीको युग अब डरलाग्दो नभई जुर्मुराएको युग हो भन्नेमा म विश्वस्त छु,' उनले हामीसँग भनेका थिए।
सेतोपाटीको भिडिओ शृंखला 'द कन्भरसेसन' मा माधव चौलागाईंले 'माण्ठ हुँ म माण्ठ' गीतका संगीतकार धीरेन्द्र प्रेमर्षि, गायकद्वय आस्था राउत र स्मारिका फुयालसँग कुराकानी गरेका थिए। यो गीत कसरी रचना भयो, यो गीतसँग उनीहरू कसरी जोडिए, गीत बनाउँदा कस्ता चुनौती आए, रमाइला किस्साहरू के के भए — यसबारे उनीहरूको कुराकानी केन्द्रित थियो।
हेर्नुहोस्, सेतोपाटी कन्भरसेसनमा 'माण्ठ हुँ म माण्ठ' टिमको पूरा कुराकानी —