नेकपा एमालेको ११औं महाधिवेशन उद्घाटन सत्र आज शनिबार भक्तपुरको सल्लाघारीमा भयो। अब बन्द सत्र आइतबारबाट काठमाडौंको भृकुटीमण्डपमा हुनेछ।
महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिए पनि उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव लगायत पदाधिकारीमा दुवैतर्फ प्यानल टुंगिएको छैन।
ईश्वर पोखरेल समूहले महासचिव उम्मेदवार टुंग्याउन छलफल गरे पनि निष्कर्ष निस्किएको छैन।
महासचिवमा योगेश भट्टराई दाबेदार थिए तर उनले उक्त पदमा नेताहरूलाई सहयोग गर्ने बताएका छन्। भट्टराई उपमहासचिव पदमा उम्मेदवार हुने तयारीमा छन्। उनले आफू उपमहासचिव उठ्ने भन्दै सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलाई महासचिवमा समझदारीमा पुग्न भनेका छन्।
यसबाट पोखरेल समूहतर्फ महासचिवमा अब दुई जना दाबेदार छन् — सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट।
गोकर्णले सुरेन्द्रलाई मिलेरै एक जना महासचिवमा उम्मेदवारी दिने कुरा गरेका छन्। 'कि तपाईं कि म महासचिवमा उठ्ने हो, साथीहरूसँग छलफल गरी टुंगोमा पुगौं,' गोकर्णले सुरेन्द्रलाई भनेका छन्।
पोखरेल निकट नेताहरूका अनुसार आन्तरिक छलफलबाट सहमतिमै भोलि बिहानसम्म को के पदमा उठ्ने निर्क्यौल हुन्छ।
'नेताहरूबीच सौहार्दपूर्ण तरिकाले कुराकानी भइरहेको छ, को नेता कुन पदमा उठ्ने भन्ने सहमतिमै निर्णयमा पुग्छौं,' पोखरेल निकट एक नेताले भने।
अर्कातिर अध्यक्ष ओलीका तर्फबाट महासचिव पदमा दुई जना दाबेदार छन्। अहिलेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीमध्ये एक जनालाई ओलीले महासचिव उम्मेदवार बनाउने चर्चा छ।
यो पनि: शंकर र प्रदीपमध्ये ओलीले कसलाई रोज्लान् महासचिव?