नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता भएको छ।
दुई पार्टीबीच भएको एकता सहमतिअनुसार एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहने र चुनाव चिह्न पाँचकुने तारा हुने भएको छ।
एकता सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव उमा भुजेल, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका हुन्।
मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी एकता घोषणा सभासमेत भएको छ।
संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय तथा आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्त गर्ने उद्देश्यसहित दुई पार्टीले एकता प्रक्रिया अघि बढाउने सहमति गरेका हुन्।
सहमति पत्रमा पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने र नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहने उल्लेख छ। त्यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार पार्ने तत्कालीन कार्यनीति तय गरिएको छ।
एकता सहमतिअनुसार आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ। केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालयलगायत अन्य केन्द्रीय निकाय तथा सबै तहका पार्टी समिति र जनसंगठनमा सहमतिका आधारमा संगठनात्मक समायोजन गरिनेछ।
संगठनात्मक समायोजनको काम मंसिर मसान्तभित्र सम्पन्न गर्ने सहमति भएको छ। पार्टीका सबै समितिहरू विधि, पद्धति र जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार सञ्चालन हुने पनि सहमति पत्रमा उल्लेख छ।
त्यस्तै, पार्टीभित्र रहन सक्ने सैद्धान्तिक तथा वैचारिक मतभेद र विगतको समीक्षासम्बन्धी विषयमा निरन्तर छलफल गर्दै एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुगिने जनाइएको छ।
