नेकपा एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा अरू बेलाभन्दा नरम र संयमित सुनिएका अध्यक्ष केपी शर्मा ओली सोही पदमा तेहेरिएकै दिन आक्रामक अन्दाजमा प्रस्तुत भए।
चार पटक मुलुकको प्रधानमन्त्री भइसकेका र विघटित संसदको दोस्रो ठूलो दल एमालेमा तेस्रो पटक अध्यक्ष चुनिएका ओलीले बिहीबार महाधिवेशन समापनका क्रममा उत्तेजक अभिव्यक्ति दिए। सो क्रममा उनले 'देश ठप्प पार्न तयार रहन' कार्यकर्तालाई निर्देशनसमेत दिए।
पहिले महाधिवेशन उद्घाटन कार्यक्रमको कुरा गरौं।
गत शनिबार भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटन भयो।
देशभरिबाट भेला भएका एमाले कार्यकर्ताहरूको भव्य उपस्थिति थियो। अन्य राजनीतिक दलबाट आमन्त्रित पाहुनाहरूको पनि मञ्चमा ठूलै उपस्थिति थियो।
महाधिवेशन उद्घाटन मन्तव्य दिने क्रममा अध्यक्ष ओली अरू बेलाभन्दा तुलनात्मक रूपमा संयमित सुनिएका थिए।
ओलीले एमाले हरेक समस्याको शान्तिपूर्ण निकास खोज्ने, मुलुकको समृद्धिका लागि प्रतिबद्ध रहने लगायत धेरै वाचाहरू प्रकट गरे। युवाहरूलाई मुलुकको प्रगतिका लागि एमालेले मात्रै काम गर्ने भन्दै आश्वस्त पार्न पनि खोजेका थिए।
त्यति मात्रै होइन, अरू बेला हाहाहाहुको सरकार भन्दै अन्तरिम सरकारविरूद्ध खनिने ओली त्यस दिन सरकारको कार्यशैलीको नरम भाषामै आलोचना गरिरहेका थिए।
'सरकारलाई फागुन २१ मा चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश छ। चुनावको मिति तोकिएको छ, तर के तयारी कतै छ? अहँ, देखिँदैन! चुनाव चाहने सरकार के गर्थ्यो,' ओलीले नरम शैलीमा प्रश्न गरेका थिए, 'सबै दलको विश्वास जित्थ्यो। निर्णयमा पारदर्शिता देखाउँथ्यो। सभा–जुलुस खुला गर्थ्यो। दलका गतिविधि प्रोत्साहित गर्थ्यो।'
उनले अगाडि भनेका थिए, 'चुनावको अनिवार्य सर्तका रूपमा रहेको निर्भयताको वातावरण निर्माण गर्थ्यो। तर अहिले के भइरहेको छ? संवादको सट्टा निषेध, बहसको सट्टा मुद्दा, प्रतिस्पर्धाको सट्टा धम्की, नेताको राहदानी रद्द र स्थान–हद... निषेधाज्ञा! यसरी चुनावको वातावरण बन्छ कि डरको?'
उनले त्यस दिन सोधेका थिए, 'मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दबाब र आतंक बढ्छ? जनताले चाहेको कुरा स्पष्ट छ — साँचो प्रतिस्पर्धा, स्वतन्त्र चुनाव र निष्पक्ष वातावरण। हाम्रो पनि भनाइ यही हो — डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट कहाँ भाग्छ?'
त्यस दिन पनि सरकारको नियतमाथि भने उनले शंका प्रकट गरेकै थिए। यद्यपि उनको शैली भीड उकास्ने ढंगको थिएन।
उनले भनेका थिए, 'अहिले कहाँ चुनाव हुँदैछ र? चुनावको कुरा मात्र भइरहेको छ। त्यसैले हाम्रो अडान छ, प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ। म उपस्थित सबै दलका नेता गणलाई पनि लोकतन्त्रमाथिको यो प्रहार, संविधानमाथिको यो आघात र राष्ट्रमाथिकै यो संकटलाई बोध गरेर, यसबाट रत्तिभर विचलित नभई सहकार्यका साथ अगाडि बढ्न आह्वान गर्छु।'
उद्घाटन सत्रमा यसरी नरम बनेका ओली एमालेमा अध्यक्ष निर्वाचित हुँदै पार्टी प्रमुखका रूपमा तेस्रो 'इनिङ' थाल्ने अवस्थामा आइपुगेका छन्। अध्यक्षका रूपमा तेस्रो इनिङ थाल्दै गर्दा भने उनी 'ब्याक टू फर्म' देखिएका छन्।
बिहीबार समापन कार्यक्रममा बोल्दै ओलीले एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्ने खतरा बढिरहेको दाबी गरे।
नेतृत्वमाथि भौतिक हमला भएको दिन देश ठप्प हुनुपर्ने र वर्तमान सरकार ढल्नुपर्ने चेतावनी पनि उनले दिए।
'एमाले नेतृत्वमाथि मिडिया ट्रायल भइरहेको छ। अहिलेसम्म मिडिया प्रचार भयो, अब भौतिक हमला हुन सक्छ। पञ्चायतकालमा जस्तै जालसाजीका मुद्दा–मामिला चलाइने सक्छ,' उनले भने, 'एमाले नेतृत्वमाथि भौतिक हमला हुने सम्भावना पनि छ। भौतिक हमला भएको दिन यो देश ठप्प हुनुपर्छ। यो सरकार पनि ढल्नुपर्छ। त्यसका निम्ति तयार रहन निर्देशन दिन्छु।'
उनले यसो भनिरहँदा समापन कार्यक्रममा सहभागी एमालेजनले उनको होमा हो मिलाउँदै ताली बजाएर समर्थन प्रकट गरेका थिए।
सुशीला कार्की नेतृत्वको सरकारले चुनावी वातावरण बनाउने काम नगरेको उल्लेख गर्दै ओलीले सरकारलाई चेतावनीको भाषामा भने, 'सके चुनावको तयारी गर, नसके बाटो लाग।'