नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले नेपाली सूचना प्रविधि (आइटी) क्षेत्रलाई विश्व बजारमा विस्तार गर्न ढुक्क भएर अघि बढ्न आग्रह गरेका छन्।
पछिल्ला वर्षहरूमा आइटी क्षेत्रमा भएका नीतिगत सुधार र राष्ट्र बैंकका पछिल्ला निर्णयले अब नेपाली कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा पखेटा फैलाउने आधार तयार भएको उनको भनाइ छ।
गभर्नर पौडेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा अनुसार, अर्थ मन्त्रालयले कम्पनी दर्ता सहज बनाउने, वैदेशिक लगानीको सीमा संशोधन गर्ने र कर प्रणालीलाई विश्वसनीय बनाउनेजस्ता सुधारको आंशिक परिणामस्वरूप आइटी क्षेत्रमा वैदेशिक लगानी तीव्र रूपमा बढेको छ।
दुई वर्षअघि करिब ४० वटा मात्र आइटी कम्पनी खुलेकोमा एक वर्षअघि मात्रै झन्डै ४०० कम्पनी खुलेका उनले बताए।
राष्ट्र बैंक आएपछि ती सुधारलाई अझै अघि बढाइएको उल्लेख गर्दै उनले नेपाली निर्यातकर्ता कम्पनीहरूलाई विदेशमा एक मिलियन डलरसम्म लगानी गर्न अनुमति दिइएको जानकारी दिएका छन्।
निर्यात नगरेका कम्पनीहरूलाई समेत २० हजार डलरसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिएको छ।
`म राष्ट्र बैंक आएपछि नेपाली निर्यातकर्ता कम्पनीहरूलाई विदेशमा एक मिलियन डलरसम्म लगानी गर्न अनुमति दिइएको छ, र निर्यात नगरेका कम्पनीहरूलाई पनि २० हजार डलरसम्म लगानी गर्न दिइएको छ,´ गभर्नर पौडेलले भनेका छन्।
उनका अनुसार वैदेशिक लगानीकर्ताले पेपरवर्क धेरै भएको गुनासो गरेपछि नाफा विदेश लैजान राष्ट्र बैंकको स्वीकृति लिन नपर्ने व्यवस्था गरिएको छ। यसले लगानी वातावरण थप सहज बनाएको उनको दाबी छ।
`नतिजा हेरेर यी सीमाहरू क्रमशः संशोधन गर्दै जानेछौं भन्नेमा सबैलाई विश्वास दिलाउन चाहन्छु,´ उनले भनेका छन्।
२०२१ सालसम्म नेपालमा वैदेशिक लगानीमा प्रतिबन्ध रहेको
पृष्ठभूमिमा हालका यी पहलहरू साधारण देखिए पनि दीर्घकालीन प्रभाव पार्ने खालका भएको गभर्नरको भनाइ छ। उनले विशेषगरी युवाहरूलाई नयाँ उत्पादन विकास गर्न र विश्व बजारलाई लक्ष्य गर्न आह्वान गरेका छन्।
`ढुक्क भएर नयाँ प्रोडक्ट निकाल्नुस्, विश्व बजारमा आँखा लगाउनुस्। पखेटा फैलाउनुस्, मेहनत गर्नुस्—नेपालबाटै जित्नलाई संसार हुनेछ,´ गभर्नर पौडेलले भनेका छन्।