मन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्ने भएपछि चुनावी सरकारमा उनी बस्न मिल्ने कि नमिल्ने विवाद उठेको छ।
यो चुनाव गराउनका लागि मात्र बनाइएको राजनीतिक दलबिनाको सरकार भएकाले उनी दलमा प्रवेश गरेपछि पदबाट राजीनामा दिनुपर्ने कतिपयको तर्क छ।
दलमा प्रवेश गरिसकेपछि उनलाई हटाउने कि नहटाउने भन्ने प्रश्न प्रधानमन्त्री कार्कीमाथि पनि उठेको छ।
प्रधानमन्त्रीनिकट स्रोतअनुसार कुलमानले भने उज्यालो नेपालको घोषणा सभामा जानुअघि नै प्रधानमन्त्री कार्कीलाई राजीनामा बुझाउन लागेका थिए। तर प्रधानमन्त्री कार्कीले बाँकी रहेका कतिपय काम सकेर मात्र कतै जान दिन्छु भनेकी थिइन्।
कुलमान उज्यालो नेपालको कुनै पदमा बसेका थिएनन्, संरक्षकमात्र थिए।
रास्वपामा भने उनी उपसभापति हुने गरी सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन्। अहिले भने उनले सरकार छोड्ने विषयबारे कुरा नभएको प्रधानमन्त्रीनिकट स्रोतले बतायो।
‘कुलमानजीले चुनावमा उठ्ने कुरा त सरकारमा आउने बेला नै थाहा थियो। केही समयका लागि नै नियुक्ति हुनुभएको हो। उहाँले एक महिनाअघि राजिनामा दिने कुरा हुँदा प्रधानमन्त्रीले रोकेको हो। तर अहिले कुरा भएको छैन,’ स्रोतले भन्यो।
स्रोतका अनुसार कुलमान सरकारबाट बाहिरिन्छन् भन्ने सोचेरै उनको सट्टा अर्को मन्त्री ल्याउन प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालय आफैसँग राखेकी थिइन्। हालै पूर्व रथि बालानन्द शर्मा परराष्ट्र मन्त्री नियुक्त भइसकेका छन्।
कुलमा निकट स्रोतले भने राजीनामाबारे अहिले खासै कुरा नभएको बताएको छ।
‘पहिला राजिनामा दिने कुरा गर्दा प्रधानमन्त्रीले रोक्नुभएको थियो। केही फरक पर्दैन भन्नु भएको हो। अहिले राजिनामा दिने कुरा अहिलेसम्म केही भएको छैन,’ स्रोतले भन्यो।