नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पक्राउ परेका पत्रकार रिहा हुँदैमा घटना सकिएको नमान्न सरकारलाई आग्रह गरेका छन्।
उनले पत्रकार पक्राउ गर्नुको कारण, त्यसका लागि निर्देशन दिने व्यक्ति र घटनाको जिम्मेवारी कसले लिने भन्ने विषयमा सरकारले जबाफ दिनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाबारे प्रधानमन्त्री कार्यालयले आफू संलग्न नभएको स्पष्टीकरण दिएर मात्रै जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएका छन्।
‘पक्राउ परेका पत्रकार छुटिसके, कुरा सकियो होइनl यस्तो किन गरियो, निर्देशन कसको थियो, जिम्मेवारी कसले लिने, यो मुख्य प्रश्नको जबाफ जरूरी छ,’ उनले भनेका छन्।
उनले केही महिनाअघि सञ्चारगृह अगाडि मोटर राखेर आतंक सिर्जना गर्ने व्यक्तिहरूको पहिचान गरी सार्वजनिक गर्न पनि सरकारले नचाहेको आरोप लगाए।
सत्तारूढ पार्टीले पत्रकारको गिरफ्तारी गैरकानुनी भएको बताएकोप्रति सकारात्मक टिप्पणी गर्दै शर्माले प्रेस स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवारी सरकारको पनि भएको उल्लेख गरेका छन्।
उनले सत्तारूढ पार्टीको चुनावी घोषणापत्रमा उल्लेखित प्रेस स्वतन्त्रतालाई सरकारले समर्थन मात्रै गर्ने हो कि त्यसको रक्षा पनि गर्छ भन्ने प्रश्न उठाएका छन्।
शर्माले गलत र भ्रमपूर्ण समाचारको खण्डन तथा आवश्यक कारबाहीका लागि निश्चित विधि रहेको भन्दै त्यसको अनुसरण गर्न आग्रह गरेका छन्।
संविधानप्रदत्त प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गैरकानुनी गतिविधि बन्द गर्न र पत्रकार पक्राउको वास्तविकता सार्वजनिक गर्न उनले सरकारसँग माग गरेका छन्।