नेपाली कांग्रेसका नेता शेखर कोइरालाले लोकतान्त्रिक पार्टी चुनावमा हार्ने तर चुनावदेखि नभाग्ने बताएका छन्।
कोइरालाले चुनाव हुने वातावरण छ कि छैन भन्ने मुख्य कुरा भएको पनि बताए।
‘सबै राजनीतिक दलहरूले समानुपातिकको सूची पठाए पनि वास्तवमा देशमा निर्वाचन हुने अवस्था छ कि छैन भन्ने प्रश्न छ,’ आज मोरङ समाज काठमाडौंको कार्यक्रममा बोल्दै उनले भने, ‘हामी भाग्दैनौँ निर्वाचनबाट। एउटा लोकतान्त्रिक पार्टी हार्छ, हार्नसक्छ तर हामी निर्वाचनबाट भाग्दैनौँ।’
उनले निर्वाचनको लागि सरकारले सुरक्षालगायत केही व्यवस्थापन गर्नुपर्ने बताए।
‘सरकारले शान्ति सुरक्षा त दिनसक्नुपर्यो। समाजमा शान्ति सुरक्षा छ कि छैन भन्ने कुरा प्रहरी प्रशासनमा निर्भर गर्छ। प्रहरी प्रशासनको आजको दिनमा अत्यन्त मनोबल गिरेको अवस्थामा छ। नेपाली सेनाले निर्वाचन गराउने हैन भन्ने कुरा हामीले बुझ्न जरुरी छ। नेपाली सेना त तेस्रो घेरामा मात्रै बस्छ,’ उनले भने, ‘बुथमा बस्ने भनेको प्रहरी नै हो। प्रहरीलाई कति समस्या पर्छ भनेर हामीले २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा देखेका छौँ। भय र त्रासमा भोट हालेको हामी सम्झिन्छौँ त्यो बेलामा।’
उनले जेनजी आन्दोलनका क्रममा ५ हजार कैदी भागेको पनि बताए। लुटिएका हतियार पनि छिटोभन्दा छिटो फिर्ता ल्याउनुपर्छ भन्ने माग सबै दलहरूको रहेको उनले बताए।
(न्युज एजेन्सी नेपाल)