नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाबाट भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका बालेनप्रति व्यंग्य कसेका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेका छन्। ऊर्जामन्त्री कुलमान घिसिङले पनि पहिलो वरीयताको उपसभापति बन्ने गरी रास्वपासँग एकता गरेका छन्।
यही विषय जोडेर ओलीले भने, 'प्रधानमन्त्रीमा नाम चलेको व्यक्तिलाई मैले अलि बाठै ठानेको थिएँ। अध्यक्ष अर्कैलाई, उपाध्यक्ष अर्कैलाई, अनि कसरी हुने प्रधानमन्त्री?'
उनले फागुन २१ को चुनावमा एमाले र कांग्रेसबाहेक अरू कसैले सरकार बनाउन नसक्ने पनि बताएका छन्।
मदन-आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको 'एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास' विषयक विचार गोष्ठीमा ओलीले भने, 'एमाले र कांग्रेस बाहेक अरूले सरकार बनाउँछ? सम्भव छ यो कुरा? यस्तो कुरा पत्याएर प्रधानमन्त्री हुन्छु भनेर लाग्नेलाई के भन्ने! खैर...!'
त्यही कार्यक्रममा ओलीले रवि लामिछाने, बालेन र कुलमान घिसिङको राजनीतिक सहकार्यप्रति पनि व्यंग्य गरेका छन्।
उनले त्यसलाई जंगलमा बाघको सिकार गर्न 'कुखुरा, बाख्रा र स्याल' ले बनाएको मोर्चाको संज्ञा दिएका छन्।
'कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न सक्दैन,' अध्यक्ष ओलीले मदन-आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको 'एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास' विषयक विचार गोष्ठीमा भने।
ओलीले यसो भन्दा सभाहलमा ठूलो हाँसो गुञ्जिएको थियो।
उनले एमालेलाई परास्त गर्न सबै जना मोर्चाबन्दीमा लागेको उल्लेख गरे।
'एमाले मात्र होइन, कांग्रेस पनि छ,' उनले भने, 'कांग्रेस यस्तो पार्टी हो, जसले छेउमा नगएसम्म केही गर्दैन, छेउमा गएपछि गाह्रो पार्छ।'
एमालेले चुनाव पर्खिरहेको पनि उनले बताएका छन्।
'देशमा को लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्मै रहन्छ। प्रधानमन्त्री बनाइसके मान्छेहरूले, हामी चुनाव पर्खिरहेका छौं। कहिले होला? फागुन २१ मा होला, वैशाखमा होला, या अर्को मंसिरमा होला, हामी चुनाव पर्खिइहेका छौं,' उनले भने।
एमालेले महाधिवेशनबाट पार्टीले धेरै कुराहरूको जबाफ दिएको बताउँदै ओलीले निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिने बताए।
एमालेसँग सहकार्यको सन्देश दिँदै कांग्रेसका मीन विश्वकर्माले भने– ०४६ सालदेखि सँगसँगै लडेका छौं
नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले संविधान निर्माणका पक्षधर शक्तिहरूले अब सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन्।
मदन-आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको 'एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास' विषयक विचार गोष्ठीमा विश्वकर्माले नेपाली कांग्रेस विधि र व्यवस्थाका लागि एमालेसँग सहकार्य गर्ने र निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्ने पनि उल्लेख गरेका छन्।
उनले एमालेको हालै सम्पन्न एघारौं महाधिवेशनले दिएका दुइटा सन्देश पनि सुनाए।
'यो महाधिवेशनले दुइटा सन्देश दिएको छ — पहिलो, अस्थायी रूपमा त्रास दिनेहरूविरूद्ध दलहरू जुर्मुराएर उठे। दोस्रो, स्थापित राजनीतिक दलहरूलाई अस्थायी, अराजनीतिक झुन्डले पराजित गर्न सक्दैन।'
नेकपा एमालेसँग सहकार्यको संकेत गर्दै कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले भने, 'हामीले २०४६ सालको जनआन्दोलनमा सँगसँगै लड्यौं, २०६२-६३ को जनआन्दोलनमा पनि सँगसँगै लड्यौं। संविधान बनाउँदा हामी एक ठाउँमा उभियौं। अहिले फेरि संकट आएको छ। यो बेला फेरि हामीले डटेर, भिडेर लड्ने हो।'
उनले अगाडि भने, 'पार्टी सभापति शेरबहादुर देउवाको सन्देशका रूपमा म यहाँ भन्न चाहन्छु, दल विशेषका आधारमा कांग्रेसको न कसैसँग मित्रता हुन्छ, न दुश्मनी हुन्छ। हामी मुद्दामा सहकार्य गर्छौं। जनताको पक्षमा सहकार्य गर्छौं। त्यसैले संविधान पक्षधर शक्तिहरू मिलेर सबभन्दा पहिला अहिले देशमा लागेको आगो निभाउनुपर्नेछ, त्यसपछि विधि र व्यवस्था जोगाउन संयुक्त रूपमा लड्नुपर्नेछ।'
'व्यवस्था स्थापित भइसकेपछि हामी हाँसी हाँसी, मनमा तिक्तता लिएर होइन, हार्दिकताका साथ निर्वाचनमा प्रतिस्पर्धा गरौं,' उनले भने।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले पनि आगामी निर्वाचनमा एमाले र कांग्रेस मिलेर जानुपर्ने बताएका थिए।
विगतका समयमा लोकतन्त्र खतरामा पर्दा वामपन्थीको नेतृत्व गरेर एमालेले र लोकतन्त्रवादीको नेतृत्व गरेर कांग्रेसले लड्दै आएको बताउँदै अहिलेको विषय परिस्थितिमा पनि दुई शक्तिहरूले रणनीति बनाउनुपर्ने उनले बताए।
यसका लागि दुई बाटो रहेको पनि उपाध्यक्ष थापाको भनाइ छ।
'कि नयाँ संसदमा वामपन्थी र लोकतन्त्रवादीहरूको वर्चश्व स्थापित गर्ने वा दुई शक्तिको वर्चश्व रहेको पुरानै संसद पुनर्स्थापना गरेर हामी फेरि लोकतन्त्रलाई स्थापित गर्न सक्छौं,' उनले भने।
अदालत र सडकबाट पुरानो संसद पुनर्स्थापनाका लागि फागुन २१ गतेसम्मको समय रहेको उनले बताए।
'दुइटा बाटो हाम्रो अगाडि छ। यसबाट अगाडि बढ्न हामीले रणनीति तयार गर्न जरूरी छ,' उनल भने।
चुनाव भएको खण्डमा नयाँ संसदमा पनि वामपन्थी शक्ति र लोकतन्त्रवादी शक्तिले 'डिप स्टेट' वादीलाई परास्त गर्न रणनीति बनाउनुपर्ने उनले बताए।
'१६५ निर्वाचन क्षेत्र लोकतन्त्र पुनर्स्थापनाका लागि १६५ मोर्चा हो। आधामा वामपन्थी र आधामा लोकतन्त्रवादी विजयी हुने रणनीति बनाऔं। ११० समानुपातिकबाट आधा वामपन्थी र आधा लोकतन्त्रवादी आउने रणनीति बनाऔं,' उनले भने।