सामाजिक अभियानी आशिका तामाङले राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा पहुँचवालाहरूले मात्र ठाउँ पाएको भन्दै तीखो प्रतिक्रिया जनाएकी छन्।
समाजमा भएका बेथितिविरूद्ध खरो टिप्पणी गर्दै आएकी उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लगातार तीनवटा पोस्ट गर्दै 'निमुखा वर्गले स्थान पाउनुपर्ने सामानुपातिक सूचीमा मिस नेपालदेखि ठेकेदार र व्यवसायीदेखि नेताका नातेदारसम्मलाई राखिएको' भन्दै टिप्पणी गरेकी हुन्।
पुराना दलहरूको गल्तीमा औंला उठाउँदै आएका नयाँ दलहरूको समानुपातिक सूचीमा पनि पहुँचवालाहरूले नै स्थान पाएको भन्दै उनले खेद प्रकट गरेकी छन्।
उनी लेख्छिन्, 'मलाई त लागेको थियो नयाँबाट एउटा पनि गल्ती हुने छैन र पुरानाले औंला उठाउने मौका पाउने छैनन्! तर त्यस्तो त होइन रहेछ। यहाँ त निमुखा वर्ग र जातिहरूका लागि छुट्याइएका कोटाहरूमा त मिस नेपाल हुने रहेछन्, आफ्नो ससुराबा, देश बेचुवा ठेकेदारको छोरा, आफ्नो आगडि पछाडि दौडिरहने आसेपासे, हुँदा हुँदा छिमेकी र अझ त्यतिले नपुगेर सानोमा स्कुल पढ्ने साथीले सांसद र मन्त्री हुने अवसर पाउने रहेछन्!'
उनले यो टिप्पणी आफ्नो तेस्रो पोस्टमा गरेकी हुन्।
पहिलो पोस्टमा लेखेकी छन्, 'समानुपातिक भनेको के हो?समानुपातिक भनेको पिछडिएको अल्पसंख्यक वर्ग, क्षेत्र जहाँ राज्यको नीति निर्माण पुग्न नसक्नेहरूका लागि छुट्टयाइएको कोटामा भ्रष्ट ठेकेदारको छोरा, बिचौलियाका छोराछोरी सांसद र मन्त्री हुने भए। नेपोकिड्स विरूद्ध ७३ जना जेनजी भाइबुहिनाले राज्यलाई दिएको आहुति र बलिदान आज यही दिन देख्न हो?'
उनले दोस्रो पोस्टमा यस्तो लेखेकी छन्, 'कर्णाली प्रदेश जहाँ अधिकांश जेनजी घाइते भाइहरू जुम्ला, हुम्ला, कालिकोटका छ्न, यस्तो पिछडिएको क्षेत्रबाट कम्तिमा १५ जना समानुपातिक कोटामा पर्ने ठाँउमा मात्र ३ जना राख्दा योबाट के प्रस्ट हुन्छ? सुदूरपश्चिमलाई राज्यले सधैं दूर बनाइराख्नुपर्ने परम्परा नै हो त?'
जेनजी आन्दोलन क्रममा घाइतेहरूका घर–घर पुगेर दालचामल, लत्ताकपडासहित आर्थिक सहयोग गर्न सक्रिय तामाङले घाइतेहरूको अवस्था हेरेर २५ हजारदेखि ७५ हजार रूपैयाँसम्म सहयोग गरेकी थिइन्।
त्यसअघि पनि उनी सधैं चर्चामा रहिन्। कहिले समाजमा भएका बेथितिविरूद्ध खरो रूपमा बोल्थिन्, कहिले बाटोमा फालिएका बोतल वा प्लास्टिकका खोल टिप्दै हिँड्थिन्। फोहोर फाल्नेहरूलाई हप्काउँथिन् पनि। कतै फोहोर देखिन् भने त्यसबारे बोलिहाल्थिन्।
उनले जनकपुरमा चलाएको फोहोरमैला विरूद्धको अभियान खुब चर्चित भएको थियो।