पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लडेर चर्चामा आएका सागर ढकालले हतार-हतार रवि, कुलमान र बालेनलाई मिलाउँदा रास्वपाको समानुपाति सूचीमा त्रुटी भएको बताएका छन्।
ढकालले फेसबुकमा स्ट्याटस लेख्दै सबैलाई मिलाउँदा त्रुटी भएको र त्यसमा सुधार भइरहेको बताएका हुन्।
'सम्भवतः अझै सच्याउन मिल्ने अवस्था छ। हामीले गल्ती नगर्ने होइन, गल्ती गर्छौं तर थाहा पाएपछि सुधार्छौं पनि भनेर उत्तर दिनुपर्छ। आशा छ, कुलमान, रवि र बालेनले जनताले समानुपातिक सूचीमा उठाएको आवाज सुन्नुहुनेछ र सुधार गर्नुहुनेछ। मैले पनि सुन्ने ठाउँमा सुनाउने प्रयास गर्छु,' उनले भनेका छन्।
उनले नयाँ भनेर अन्धाधुन्ध विश्वास नगर्न पनि नागरिकहरूलाई अपिल गरेका छन्।
'सबैलाई प्रश्न नसोध्ने हो भने बालेन, कुलमान र रवि पनि ओली, प्रचण्ड र देउवा हुन धेरै समय कुर्नु पर्दैन,' उनले भनेका छन्, 'प्रश्न नसोध्ने र मौन भक्ति गर्ने हो भने देश बन्दैन, चाहे नयाँ हुन् चाहे पुराना। सबै मिलेर जनताको आवाज सुनेर, जवाफदेही भएर नै देश बन्छ।'