नेकपा एमाले नेता गोकुल बास्कोटाले उपाध्यक्ष रामबहादुर थापा 'बादल'लाई कटाक्ष गर्दै समानुपातिकबाट नाम फिर्ता लिन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत् बास्कोटाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर चुनाव लड्ने भए समानुपातिकमा नबस्न सुझाव दिएका हुन्।
‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक बसेपछि यो प्रणालीको विरोध हुनु ठीक हो। अझ तिनै रूख र सूर्य मिलेर चुनावमा जानु पर्छ भन्छन्। रूख–सूर्य मिलेपछि चुनाव लडे भयो त। अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले। समावेशिताकै बेइज्जत नगर के– त्यो पनि पुरूषले!,’ उनले भने।
उपाध्यक्ष बादलले मंगलबार कांग्रेस र एमाले मिलेर चुनावमा जानुपर्ने धारणा राखेका थिए। अध्यक्ष केपी ओली सामू नै उनले यस्तो विचार राखेका थिए। यसपछि एमालेभित्र यसले बहस सिर्जना गरेको छ।