राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले निर्वाचन आयोगले दुःख दिएको भन्दै गत निर्वाचनको खर्च विवरण फेसबुकमार्फत् पुनः सार्वजनिक गरेका छन्।
‘यो निर्वाचन आयोगले पनि दुखै दियो! गत निर्वाचनको खर्च विवरण सार्वजनिक नगरेको भनेर फेरि सूचना जारी गरेछ। गत निर्वाचनपछि पनि लगत्तै त्यस्तै सूचना जारी गरेको थियो,’ उनले भनेका छन्।
आफूले निर्वाचन आयोगले तयार पारेको खर्च विवरणको फारम भरेर सो फारम निर्वाचन सकिएको दुई हप्तापछि नै अर्थात् २० मंसिर २०७९ मा काठमाडौं क्षेत्र नम्बर एकको निर्वाचन आयोगको कार्यालयमा आफै उपस्थित भई बुझाएको उनले बताएका छन्।
‘खर्च विवरण निर्वाचन आयोगको कार्यालयले सोही मितिमा कार्यालयको छाप सहित दर्ता नं १० तोकेर बुझिलिएको थियो, जसको प्रतिलिपि यसै विज्ञप्तिसाथ संलग्न गरेको छु। त्यसै दिन मैले आफ्नो खर्च विवरणबारे जारी गरेको प्रेस विज्ञप्ति रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख शीर्षकमा प्रमुख सञ्चार माध्यमहरूमा प्रकाशित भएका थिए। यो भन्दा बढी सार्वजनिक कति हुनु पर्यो?,’ उनले प्रश्न गरेका छन्।
कुनै नेताले सार्वजनिकरूपमै निर्वाचनमा ६ करोड रूपैयाँ खर्च गरेँ भन्दा स्पष्टीकरण सोधेर छोड्ने निर्वाचन आयोगले हामीजस्ता इमानदार प्रतिस्पर्धालाई चाहिँ किन सताइरहेको होला भनेर उनले जिज्ञासा राखेका छन्।
‘बरू उमेदवारले बुझाएको खर्च विवरण दर्ता भएपछि आयोगले आफ्नो वेबसाइटमा सार्वजनिक गरिदिए भइहाल्छ। शंका लागे उम्मेदवारलाई स्पष्टीकरण सोधे भइहाल्यो। निर्वाचन आयोगजस्तो विशिष्ट संस्थाले बारम्बार यस्तो कमजोरी गरेको राम्रो भएन। भविष्यमा यस्तो त्रुटि नहोस् भन्ने अनुरोध गर्दछु,’ उनको आग्रह छ।
